लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको चौथो अधिवेशन, कृति लोकार्पण र स्रष्टा सम्मान सम्पन्न 

Shares

​बुटवल । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देही शाखाको चौथो अधिवेशन, स्रष्टा सम्मान, कार्यपत्र प्रस्तुति, कृति लोकार्पण तथा रचनावाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा शैक्षिक व्यक्तित्व लोकनाथ उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोह साहित्यिक माहौलका बीच शनिवार उल्लासमय रूपमा सम्पन्न भयो ।

​समारोहको विशेष अवसरमा साहित्यकार गोपालप्रसाद आचार्यद्वारा लिखित नवीनतम कविता सङ्ग्रह ‘विचारका बीजहरू’ को लोकार्पण गरियो । लोकार्पण गरिएको कृतिका बारेमा विस्तृत समीक्षा गर्दै समीक्षक डा शालिकराम पौड्यालले आचार्यका कविताहरूमा समाजका विविध आयाम, समसामयिक चेत र गहिरो जीवनदर्शन समेटिएको चर्चा गरे । कार्यक्रममा साहित्यकार कविता पन्थीले रुपन्देहीका नारी स्रष्टाको विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरिन भने उक्त कार्यपत्रमाथि समालोचक माया घिमिरेले गहन टिप्पणी र पूरक विचारहरू राख्नुभएको थियो ।

​सोही अवसरमा भाषा, साहित्य र कला क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत स्रष्टा गुरुदत्त ज्ञवाली, धर्मी शाक्य र इन्दिरा ज्ञवालीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित विशेष सम्मान र पुरस्कार प्रदान गरिएको थियो । सम्मान पश्चात आयोजित रचनावाचन कार्यक्रममा उपस्थित विभिन्न स्रष्टाहरूले आ-आफ्ना उत्कृष्ट सिर्जनाहरू प्रस्तुत गरेर हललाई काव्यमय बनाएका थिए । कार्यक्रममा डा. मुरारि पराजुली र रमेश समर्थनले शुभकामना मन्तव्य राख्दै रुपन्देहीको साहित्यिक श्रीवृद्धिमा प्रतिष्ठानले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । लोकार्पित कृतिकार गोपालप्रसाद आचार्यले रचना गर्भसहित धन्यवाद ज्ञापन गरे ।  सम्मानित स्रष्टाको तर्फबाट इन्दिरा ज्ञवालीले धन्यवाद ज्ञापन राखिन निवर्तमान उपाध्यक्ष कृष्ण गाउँलेले कार्यकुशलतापूर्वक सञ्चालन गरेको उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

​अधिवेशनको बन्द सत्रले आगामी कार्यकालका लागि छवि ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा कविता पन्थी, सचिवमा कृष्ण पाण्डे र कोषाध्यक्षमा दुर्गा थापा मगर चयन भए । यसैगरी कार्यसमिति सदस्यहरूमा सिर्जना खनाल, सरला गाहा, यदु लामिछाने, उद्धव देवकोटा, सङ्गम अनुरागी, एम. बी. खड्का र कमला भण्डारी निर्वाचित भए । नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्नका लागि प्रा. डा. हिरण्यलाल ज्ञवालीको संयोजकत्वमा श्यामप्रसाद न्यौपाने र लक्ष्मी कोकिला रहेको तीन सदस्यीय निर्वाचन मण्डलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । नवनिर्वाचित कार्यसमितिलाई विभिन्न साहित्यकारले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.