२० असोज, काठमाडौं — प्रतिकूल मौसमका कारण सगरमाथाको तिब्बतस्थित पूर्वी भागमा सयौं पर्यटक र आरोहीहरु फसेका छन्। बाक्लो हिमपातले पदमार्ग अवरुद्ध भएपछि उनीहरू त्यहाँ अलपत्र परेका हुन्। उद्धार कार्य तीव्र गतिमा जारी रहेको चिनियाँ समाचार संस्था सीसीटीभी ले जनाएको छ।
रोयटर्सले उद्धृत गरेको जिमु न्यूज अनुसार, हालसम्म करिब एक हजारजना मानिस फसेका छन्। तीमध्ये ३५० जनालाई उद्धार गरी कुदाङ शहर पुर्याइएको छ भने २०० जनासँग सम्पर्क स्थापित भइसकेको छ।
उद्धारमा खटिएका स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू करिब ४,९०० मिटर उचाइमा हिमपात हटाउने र बाटो खुलाउने प्रयासमा सक्रिय छन्। शुक्रबार साँझदेखि शनिबारसम्म लगातार परेको हिमपातका कारण पदमार्ग छेकिनुका साथै थप जोखिम बढेको छ।
परिस्थिति गम्भीर बनेपछि टिङ्ग्री काउन्टीको पर्यटन समितिले सगरमाथा भ्रमणका लागि टिकट बिक्री अस्थायी रूपमा बन्द गरेको जनाएको छ। जानकारी आधिकारिक वी–च्याट अकाउन्टमार्फत् दिइएको हो।
यसैबीच, सगरमाथाको नेपालतर्फको भागमा पनि हिमपात र पहिरोका कारण पदमार्ग प्रभावित बनेको छ। नाम्चे र जोरसल्ले बीचको मुख्य ट्रेकिङ मार्ग पहिरोले क्षतिग्रस्त भएको जानकारी नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) ले दिएको छ।
टानले यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गर्दै मूल बाटोभन्दा दुई–तीन सय मिटर माथिको खच्चर मार्ग प्रयोग गर्न सूचना प्रवाह गरेको छ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावका कारण असोज १८ र १९ गते नेपालमा भारी वर्षा, बाढी र पहिरो आएको थियो। त्यस क्रममा इलाममा मात्रै ३७ जनाको मृत्यु भइसकेको छ। सगरमाथा क्षेत्रमा पनि असामान्य रूपमा भारी हिमपात भइरहेको बताइएको छ।
उद्धारपछि कुदाङ पुगेकी १८ सदस्यीय ट्रेकिङ टोलीकी सदस्य चेन गे श्वाङले रोयटर्ससँग भनिन्, “मौसम एकदमै असामान्य भयो। अक्टोबरमा यस्तो मौसम कहिल्यै देखिएको थिएन। सबै कुरा एक्कासी भयो।”
चिनियाँ राष्ट्रिय दिवसको आठदिने बिदाका अवसरमा सयौं पर्यटक सगरमाथाको पूर्वी भागतर्फ पर्ने कर्मा उपत्यका पुगेका थिए।






