कपिलवस्तुमा स्कुलको कम्पाउन्डभित्रै भ्यानले ठक्कर दिएका बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिका-५ कोपुवाका ७ वर्षीय प्रियान्स खनालको आफै पढ्ने स्कुलको भ्यानले ठक्कर दिएपछि मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बाणगंगा नगरपालिका वडा नं. ४ सिद्धिपुरस्थित होराइजन इङ्लिस बोर्डिङ स्कुलमा कक्षा १ मा अध्ययनरत प्रियान्सलाई बिहीबार दिउँसो आफ्नै स्कुलको लु.प्र.०१–००१ क ०३६३ नम्बरको भ्यानले ठक्कर दिएको थियो।
दिउसो २ बजेतिर विद्यालय परिसरको चौरमा हिँडिरहेका प्रियान्सलाई भ्यानले ठक्कर दिएपछि विद्यालयले तत्काल उपचारको लागि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारको लागि लगेको थियो।
भ्यानको ठक्करबाट अनुहार र पेटमा गम्भीर चोट लागेको थियो। भैरहवामा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो।
बिहीबार राती नै चितवन पुर्याइएका प्रियान्सलाई राति ११:३८ बजे चितवन मेडिकल कलेजका चिकित्सकले मृत घोषणा गरेका थिए।
विद्यालय परिसरभित्रै सोही विद्यालयको भ्यानले विद्यार्थीलाई दिउँसो २ बजेतिर ठक्कर दिएको घटनाबारे प्रहरीलाई भने राती पौने ९ बजे मात्रै जानकारी गराइएको थियो। प्रहरी नायब उपरीक्षक सिंहका अनुसार कपिलवस्तु प्रहरीले उक्त घटनाबारे भैरहवा मेडिकल कलेजमा खटिएको प्रहरी मार्फत जानकारी पाएको थियो।






