२ भदौ , काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी, व्यवस्थित र अनुमानयोग्य बनाउन संघीय निजामती सेवा विधेयक महत्वपूर्ण हुने बताएकी छन्।राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले भनसुनमा आधारित हुने सरुवा प्रक्रिया रोक्न यस विधेयकले योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
उनले भनिन्, “अब कर्मचारीको भनसुनका आधारमा सरुवा हुने प्रणालीलाई रोक्न यो विधेयक निकै आवश्यक छ। अनुमानमा आधारित सरुवालाई व्यवस्थित गर्नुपर्छ।”न्यौपानेले सरुवा तथा बढुवाको प्रणालीलाई स्पष्ट र पूर्वानुमेय बनाइने गरी विधेयकलाई समृद्ध बनाउन सांसदहरूलाई आग्रह गरिन्।
उहाँले सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउनु र संघीयताका लक्ष्यहरू कार्यान्वयन गर्न यस विधेयक महत्त्वपूर्ण दस्तावेज भएको पनि जिकिर गरिन्।प्रतिनिधिसभाबाट पास भइसकेको उक्त विधेयकमाथि थप छलफल आवश्यक भएको बताउँदै राष्ट्रिय सभाले यसलाई विधायन व्यवस्थापन समितिमा लगेको थियो। समितिमा विधेयकका १९३ बुँदामा १६ समूहमा सांसदहरूले विविध संशोधन प्रस्तावहरू पनि प्रस्तुत गरेका छन्।






