गाईजात्रा पर्व काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा धुमधामका साथ मनाइँदै। मृत आफन्तको सम्झनामा परिक्रमा, हास्यव्यङ्ग्य र सांस्कृतिक कार्यक्रम आयोजित।
२५ साउन,काठमाण्डौ
आज देशभरका विभिन्न स्थानमा परम्परागत सांस्कृतिक पर्व गाईजात्रा धुमधामका साथ मनाइँदैछ। प्रत्येक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने यो पर्वमा मृत आफन्तको सम्झनासहित प्रहसन, व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान र धार्मिक कार्यक्रम गरिन्छ।
गाईजात्रा काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, गुल्मी, पाल्पा, अर्घाखाँचीलगायत नेवार समुदायको बसोबास रहेका जिल्लामा विशेष रूपमा मनाइन्छ।
पर्वमा दिवङ्गतको सम्झनामा गाई वा मानिसलाई गाईको रूपमा सिँगारी टोलटोलमा परिक्रमा गराइन्छ। सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न तथा पैसा दान गर्छन्।
ऐतिहासिक मान्यता अनुसार, राजा प्रताप मल्लले पुत्रवियोगमा पीडित आफ्नी रानीलाई संसारको शोक देखाउन घरघरबाट दिवङ्गतको नाममा गाईजात्रा निकाल्ने आदेश दिएका थिए। पछि रानीको मन शान्त पार्न प्रहसन र व्यङ्ग्यात्मक कार्यक्रमको परम्परा सुरु भएको मानिन्छ।
आजको दिन सामाजिक विकृति र विसंगतिविरुद्ध व्यङ्ग्यात्मक प्रस्तुतिहरू, हास्यव्यङ्ग्य, नाचगान र रामायणका करुण रसका गीतहरू पनि गाइन्छ। हास्य कलाकारहरूले विशेष कार्यक्रम आयोजना गर्छन्।
सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेश सरकारले प्रदेशभित्र बिदा घोषणा गरेको छ भने अन्य थुप्रै स्थानीय तहहरूले पनि गाईजात्रा मनाइने क्षेत्रमा बिदा दिएका छन्।






