काठमाडौँस्थित गान्धी आश्रममा पृथ्वी जयन्तीको अवसर पारेर ‘शान्ति, न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता’ विषयक अन्तर्क्रियात्मक गोष्ठी सम्पन्न भएको छ। बाइसे–चौबिसे राज्यहरू एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्ने बडामहाराज पृथ्वीनारायण शाहको स्मरणमा आयोजित उक्त कार्यक्रम नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी, काठमाडौँले आयोजना गरेको हो।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष केशवप्रसाद चौलागाईंले कार्यपत्र प्रस्तुत गर्दै पुनः स्वराज्य र मेलमिलापको मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। राज्य पुनर्संरचनाको चरणमा जातीय राज्यको माग बढ्दा सम्भावित द्वन्द्व रोक्न आफूले तयार पारेको कार्यपत्रमार्फत तीनवटा गोष्ठी सञ्चालन गरिएको स्मरण गराउँदै, हाल पनि जातीय, भौगोलिक, भाषिक र धार्मिक मुद्दा जस्ताको तस्तै रहेकाले सतर्कता आवश्यक रहेको बताए। साथै, जेन–जी पुस्ताले गरेको आन्दोलन र त्यसका परिणामबारे चर्चा गर्दै अहिंसामार्फत परिवर्तनको पहल गर्न आयोजक संस्थाले नेतृत्व लिनुपर्ने धारणा राखे।
जेन–जी पुस्ताका अनुसन्धानकर्ता तथा नेशनल इन्स्टिच्युट अफ इन्टरनेशनल को–अपरेसन एण्ड इन्गेज्मेन्टका कार्यक्रम निर्देशक विवेकध्वज थापाले पृथ्वीनारायण शाहले २२ वर्षको उमेरमै नुवाकोट विजय गरेको उदाहरणबाट प्रेरणा लिन आग्रह गरे। कहिल्यै हरेस नखाने दृढता पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने उनको भनाइ थियो।
गोष्ठीमा डा. लक्ष्मीप्रसाद खतिवडा, पत्रकार दामोदर न्यौपाने, इन्द्र श्रेष्ठ र तेजेन्द्र प्रसाईंले शिक्षा र अहिंसालाई पठनपाठनसँग जोड्दै गौरवपूर्ण इतिहास विद्यार्थीसमक्ष पुर्याउनुपर्नेमा जोड दिए। साहित्यकार महेश प्रसाईं, संस्कृत भाषाविद् पूर्व डीआईजी श्याम नेपाल र संस्कृतिविद् घनश्याम कोइरालाले गान्धी र तुलसी मेहर श्रेष्ठको योगदानलाई संस्कृति र इतिहाससँग जोडेर व्यवहारमा उतार्नुपर्ने बताए। विश्व हिन्दु परिषद् नेपालका नगर संयोजक तथा पूर्व प्रहरी उपरीक्षक टंक भट्टराईले धार्मिक जागरणमा गान्धी तुलसीको योगदान प्रचार गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष उदय मोहन श्रेष्ठले नेपालका गान्धीका रूपमा सम्मानित तुलसी मेहर श्रेष्ठले स्थापना गरेको ऐतिहासिक संस्थाको योगदान स्मरण गरे। जहाँनिया राणा शासनकालमा प्रजातन्त्र र महिला शिक्षाका कारण भारतमा निर्वासित जीवन बिताउनुपरेको प्रसंग उल्लेख गर्दै, महात्मा गान्धीसँग बस्ने तुलसी मेहरको सदिच्छा पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए।
कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृत प्रेम लामिछानेले गरेका थिए भने धन्यवाद ज्ञापनसहित समापन मुख्य गुठियार विष्णुप्रसाद दुलालले गरेका थिए।






