अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी प्युठानले आर्थिक संकटमा परेका रामेश सुनार परिवारलाई आर्थिक सहयोग प्रदान गर्यो। ‘Local Youth Actions for the SDGs and Beyond’ नारा अन्तर्गत युवाहरूको सहकार्यको उदाहरण।
क्षितिज विक्रम खनाल
२७ साउन बुटवल- अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन आज संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी प्युठानले मानवता र सहकार्यको सुन्दर उदाहरण प्रस्तुत गर्दै आर्थिक सहयोगको हात फैलाएको छ। प्युठान जिल्ला कमिटीका अध्यक्ष महेश पाण्डेको नेतृत्वमा सहयोग संकलन गरी आर्थिक रूपमा संकटमा परेको परिवारलाई सहयोग गरिएको छ।
प्युठान नगरपालिका वडा नं. ८ रज्याल निवासी बङ्गम सुनारका ५८ वर्षीय छोरा रामेश सुनार विगत एक वर्षदेखि दुवै मृगौला फेल भएर उपचाररत छन्। उनी अहिले घोराही, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हप्तामा दुई पटक डायलासिस गराउँदै आएका छन । तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च धान्न निकै कठिनाइ भइरहेको समयमा संगठनको सहयोगले परिवारलाई थोरै भए पनि राहत पुगेको छ।
राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी प्युठानले यस्तो सहयोगलाई सामाजिक जिम्मेवारीको रुपमा लिई निरन्तर यस्ता पीडित परिवारहरूका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष महेश पाण्डे भन्छन, “साथीभाइले हातेमालो गर्दा जीवनका कठिन घडीहरूलाई सजिलै पार्न सकिन्छ। समाजमा सहयोग र सहकार्यको भावना फैलाउनु हामी सबैको दायित्व हो।”
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा “Local Youth Actions for the SDGs and Beyond” अर्थात् “स्थानीय तहमा युवाहरूका पहलहरू दिगो विकास लक्ष्यहरू र त्यसपछिका चुनौतीहरूको समाधानका लागि” भनि जनाउँछ। यसले समुदाय स्तरमा युवाहरूले गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता, र सम्मानजनक रोजगार जस्ता संयुक्त राष्ट्रका दिगो विकास लक्ष्यहरू प्राप्त गर्न नेतृत्वदायी भूमिका खेल्ने कुरा उजागर गर्दछ। साथै, यसले स्थानीय र विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्ने युवाहरूको संकल्प र प्रयासलाई पनि महत्व दिएको छ।
नेपालमा मृगौला सम्बन्धी समस्या दिनदिनै बढिरहेको छ। अस्वस्थ जीवनशैली, मधुमेह र उच्च रक्तचापले गर्दा किड्नी रोगको जोखिम बढिरहेको छ। समयमै सचेतना र उपचार नपाउँदा अवस्था झन् जटिल बन्दै गएकोले हामी सबैले स्वस्थ जीवनशैली अपनाउने र नियमित स्वास्थ्य परीक्षण गराउने कुरामा ध्यान दिनुपर्ने हुन्छ।
राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी प्युठानले यस्ता सहयोगी कार्यक्रमहरू जारी राख्दै समाजमा सहानुभूति, सहकार्य र दिगो विकासको बाटोमा युवाहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।






