लेखनाथ पोखरेलको नयाँ कथासंग्रह ‘एक रातको बास’ सार्वजनिक – १५ कथासहित नेपाली साहित्यमा नयाँ योगदान

Shares

१७ भदौ,काठमाडौं- साहित्यकार लेखनाथ पोखरेलको नयाँ कथासंग्रह ‘एक रातको बास’ हालसालै सार्वजनिक भएको छ। यसअघि नियात्रा संग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य–निबन्ध संग्रह ‘चिबे–नकटो’ र उपन्यास ‘वनिता’ प्रकाशित गरिसकेका पोखरेल यसपटक दोस्रो कथासंग्रहसहित पाठकमाझ आएका हुन्। विशेष कुरा के छ भने उनको ‘फकलीको गाउँ’ अंग्रेजी भाषामा पनि अनुवाद भइसकेको छ।

२०८ पृष्ठको यस संग्रहमा १५ कथा समावेश छन्। ‘कोरली, नियतिको खेल, पोल्टाको सिन्दूर, पहाडे मनई आइटा, सुनयना, लच्छुकी घरवाली, एक रातको बास, पराई सुख, सन्त्रास, माखे सांगलो, तिमीबाहेक, म को हुँ?, आश्रम, आफलेको ठाँडो र यो पनि झुट हो!’ शीर्षकका कथा संग्रहमा समावेश छन्। पुस्तकको शीर्षक ‘एक रातको बास’ कथाबाटै लिइएको हो। पत्रकार कृष्ण भुसालले सम्पादन गरेको संग्रहमा ‘वृद्धको डायरी’लाई छुट्टै अनुभागमा प्रस्तुत गरिएको छ।

महाकाव्यकार खेमनाथ दाहालका अनुसार, यस संग्रहका कथा जीवन्त, गहन र मार्मिक छन्। लेखकले हास्य–व्यंग्य, स्मृति, जीवनशैली र प्रकृतिप्रतिको आकर्षणलाई कथाको आधार बनाएका छन्। ग्रामीण सामाजिक संरचना, मानवीय सम्बन्ध र संवेदनालाई पोखरेलले सूक्ष्म ढंगले प्रस्तुत गरेको देखिन्छ।

पुस्तकका कथाहरूमा पात्रहरूको संघर्ष, मनोविज्ञान र बदलिँदो समाजका विविध रूप चित्रित छन्। सरल भाषा, परिपक्व शिल्प र सहज कथनशैलीका कारण पाठक सहजै आकर्षित हुने दाहालको भनाइ छ।

स्रष्टा पोखरेलका अनुसार, विभिन्न कालखण्डका पदचाप, घटनाक्रम र अनुभूतिलाई कथामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ। उहाँका दृष्टिमा मूल्यांकन गर्ने जिम्मा पाठककै हुन्छ।

हालका धेरै कथा शहरी परिवेशमा केन्द्रित हुने क्रममा पोखरेलको ‘एक रातको बास’ ग्रामीण जीवन, सामूहिक सम्बन्ध र जीवन–यथार्थको कथा लिएर आएको छ। यसले साहित्यिक स्वादसँगै भावनात्मक गहिराइ पनि थपेको सम्पादक कृष्ण भुसाल बताउनुहुन्छ। ‘यस संग्रहले पाठकलाई सोच्न, आत्मसमीक्षा गर्न र आफ्नै जीवनसँग जोडेर बुझ्न प्रेरित गर्छ,’ उहाँले भनेका छन्।

उपन्यासकार तथा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले यस कृतिलाई नेपाली कथासाहित्यमा सशक्त योगदानको रूपमा लिएका छन्। उहाँका अनुसार, सरल भाषा, संवेदनशील विषय र प्रभावकारी प्रस्तुतीकरणले पुस्तकलाई पठनीय बनाएको छ।

साहित्यिक वृतका अनुसार, निरन्तर सिर्जनशील यात्रामा रहेका पोखरेलको यो कृति नेपाली कथासाहित्यमा थप योगदान स्वरूप आएको छ। मोबाइल किताब प्रा.लि.ले डिजाइन तथा छपाइ गरेको पुस्तक आकर्षक आवरणसहित बजारमा आएको छ। यसको मूल्य ४५० रुपैयाँ राखिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.