बुटवल । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट (मेसु) डा. इन्द्र ढकाललाई आफ्नो दरबन्दी रहेको गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरीमा हाजिर हुन यही जेठ २३ गते निर्देशन दिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार, डा. ढकालको पदस्थापन २०८१ साल असार ५ गतेको निर्णयअनुसार सप्तरीस्थित गजेन्द्रनारायण अस्पतालमा गरिएको थियो।
मन्त्रालयले निर्देशन दिएको ३ महिना हुन लाग्दा पनि डा. ढकाल सप्तरी गएका छैन् । डा. ढकाल शक्ति केन्द्र अर्थात लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई खुसी पारेर सप्तरी नगएको खुलेको हो । मुख्यमन्त्री आचार्यले स्वास्थ्य मन्त्रालयले सप्तरी जान निर्देशन दिएको ४८ घण्टा नपुग्दै मुख्यमन्त्रीस्तरको निर्णय भन्दै केही समय लुम्बिनी प्रादेशिक अस्पतालमा नै काम गर्न दिन भनि पत्र लेखेका थिए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव राजेन्द्रप्रसाद अधिकारीले जेठ २५ गते मुख्यमन्त्रीस्तरको निर्णय भन्दै डा. ढकाललाई थप केही समयको लागि लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेसुको रुपमा जिम्मेवारी दिन भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका थिए । उच्च स्रोतका अनुसार डा. ढकालले मुख्यमन्त्री आचार्य र भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाललाई खुसी पारेर स्वास्थ्य मन्त्रालयले लेखेको पत्रको मसि सुक्न नपाउँदै मुख्यमन्त्री आचार्यले उपसचिव अधिकारीलाई पत्र लेख्न लगाएका हुन् ।
इन्द्र ढकाल ती नै व्यक्ति हुन्, जो नियमविपरीत एघारौं तहमा बढुवा सिफारिस भएको देखिएका थिए ।
डा. ढकाललाई एघारौं तहमा बढुवाका लागि लोकसेवा आयोगले स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको थियो । दुर्गम नै नगई उनी दुर्गमवापत लिने सुविधा लिएर बढुवामा सिफारिस भए।
आयोगको २०७९ असोज २६ गतेको सूचना प्रकाशन तथा विज्ञापन नं. १७१६४÷०७९–८० अनुसार डा. ढकालले स्वास्थ्य सेवाको एघारौं तहमा आन्तरिक प्रतियोगिता(आ.प्र.)तर्फ परीक्षा दिए । ढकाल लगायतले नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट अर्थोपेडिक सर्जन पदको लागि गत पुस २ गते प्रथम पत्र र ६ गते दोस्रो पत्रको परीक्षा दिएको देखियो ।
जसमा माग पद संख्या १ (एक) जनामात्रै रहेको छ। त्यसपछि आयोगको सूचनाअनुसार लिखित परीक्षामा छनोट भएका ढकाल अन्तर्वार्ताबाट समेत पहिलो नम्बरमा छनोट भए । आयोगले माघ २५ गते जारी गरेको सूचनामा बढुवा नियुक्तिका लागि सिफारिस योग्यताक्रमको पहिलो नम्बरमा नै डा. ढकालको नाम थियो ।
शक्ति केन्द्रलाई खुसी पार्न माहिर डा. ढकालले गलत कागजात पेस गरेको प्रमाणित भएपछि मन्त्रालयले उनलाई ११ औँ तहबाट १०औँ तहमा घटुवा गरेको थियो । यस्तै अस्पतालमा १४ करोड ९३ लाख ६० हजार मूल्यमा एमआरआई मेसिन किन्न अगाडि बढाएको प्रक्रियामा मिलेमतो गरेको पाइएपछि ठेक्का समेत रद्ध भएको थियो । डा. ढकालले एमआरआई किन्न अगाडि बढाएको टेन्डर प्रक्रियाका टेन्डर कागजातको अध्ययन गर्दा टेन्डर कागजात र प्राविधिक स्पेशिफिकेशन नै निश्चित कम्पनीको उत्पादनसँग मात्र मिल्ने गरी निर्माण गरेको खुलेको थियो । उक्त तथ्य बाहिरिए पछि ठेक्का प्रक्रिया रद्ध भएको थियो ।
तर, पदको लागि जस्तो सुकै हर्कत गर्ने, डा. ढकाललाई भाषणमा सुशासन, पारदर्शीता कायम आफ्नो प्राथमिकता बताउने मुख्यमन्त्री आचार्यले भने पुरस्कार स्वरूप लुम्बिनी प्रादेशिक अस्पतालमै कामकाज गर्ने बाटो दिएका छन्।
यसअघि काँग्रेस समर्थक भनेर चिनिने डा. ढकाल अहिले एमाले बनेको चर्चा छ । त्यसैले उनलाई जोगाउन एमालेका नेता भूमिश्वर लागिपरेको एमालेका एक नेताले बताएका छन् । भूमिश्वरबाहेकको एमालेको अर्को खेमाले भने डा.ढकाललाई सरुवा गर्नुपर्ने अडान लिएको छन् ।
डा. ढकालमाथि राजनीतिक पहुँचको दुरुपयोग गरेको गम्भीर आरोप समेत लाग्दै आएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा ११ औँ तहका आधा दर्जनभन्दा बढी वरिष्ठ चिकित्सकहरू हुँदाहुँदै १०औँ तहका डा. ढकाललाई मेसुको जिम्मेवारी दिनुले यो आरोपलाई थप बल पु¥याएको छ ।
सामान्यतया मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी एमपीएच गरेका चिकित्सकलाई दिने प्रचलन छ, तर यहाँ योग्य उम्मेदवारलाई पन्छाएर ढकाललाई नियुक्ति दिइनु नीति विपरित रहेको अस्पतालकै एक चिकित्सकको भनाई रहेको छ ।
लुम्बिनी प्रदेशका अस्पतालहरुमा अहिले राजनीतिक पूर्वाग्रहले कर्मचारी सरुवा बढुवा गर्ने गरिएको गुनासो समेत बढेको छ । उता, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहले दरबन्दीका चिकित्सक अन्यत्र बस्दा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको बताएका छन् ।






