१३ भदौ ,काठमाडौं – निर्वाचन आयोगले गण्डकी प्रदेश अन्तर्गत मनाङ जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र नं. २ मा उपनिर्वाचनको मिति तोकेको छ। आयोगले आजको बैठकबाट उपनिर्वाचन आगामी कार्तिक १७ गते सोमबार गर्ने निर्णय गरेको हो।
यो क्षेत्रबाट २०७९ मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचनमा निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशअनुसार पद गुमाएपछि उक्त स्थान रिक्त भएको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले गुरुङले आवश्यक कानूनी योग्यता नपुगेको ठहर गर्दै उनी पदमा बस्न अयोग्य भएको निर्णय गरेको थियो।
निर्वाचन आयोगले यस उपनिर्वाचनका लागि २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचन ऐन बमोजिम प्रक्रिया अघि बढाउने जनाएको छ। यसअघि रुपन्देही–३ मा तोकिएको उपनिर्वाचनसँगै अद्यावधिक भएको अन्तिम मतदाता नामावली यस उपनिर्वाचनमा पनि प्रयोग हुने छ। आयोगका अनुसार २०८२ कात्तिक १६ गतेलाई मतदाताको उमेर हद तोकिएको कट–अफ मिति बनाइने छ।
आयोगले घोषित उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता र सम्पूर्ण सरोकारवालालाई सक्रिय सहयोग गर्न आग्रह गरेको छ।






