आमाको काखदेखि आत्माको अभिव्यक्तिसम्म :मातृभाषा मुटुको स्पन्दन

Shares

– बुद्धिसागर भट्टराई, शिक्षासेवी
संसारभरिका मानिसहरू बोल्छन्, भाषण गर्छन्, पढ्छन्, पढाउँछन्। शासकहरूले फर्मान जारी गर्छन् र जनताले त्यसको अनुपालन गर्छन्। यी सम्पूर्ण क्रियाकलाप बोलीकै माध्यमबाट सम्पन्न हुन्छन्। यही बोलीलाई भाषा भनिन्छ। भाषाका मुख्य तीन भेद हुन्छन् : मौखिक, लिखित र सांकेतिक।

भाषाको इतिहास मानव सभ्यताकै इतिहासजत्तिकै पुरानो मानिन्छ। भाषा सामान्यतया विचार-विनिमय र भाव अभिव्यक्तिको माध्यम हो। अर्को शब्दमा भन्नुपर्दा, बोधगम्य श्रव्य ध्वनिको नाम भाषा हो।

वाणीका आधारमा भाषालाई तीन भागमा विभाजन गरिएको हुन्छ : मातृभाषा, दोस्रो भाषा र विदेशी वा अन्तर्राष्ट्रिय भाषा। सर्वप्रथम आमाको काखबाट सिकिएको भाषा नै मातृभाषा हो। घरबाहिर छरछिमेकका अन्य समुदायका मानिसहरू तथा साथीसँगबाट सिकिएको भाषालाई दोस्रो भाषा भनिन्छ भने विद्यालयमा गएपछि सिकिने भाषा विदेशी वा अन्तर्राष्ट्रिय भाषा हो। हाम्रो सन्दर्भमा अंग्रेजी भाषा तेस्रो भाषाका रूपमा रहेको छ।

मातृभाषा मुटुको स्पन्दन हो। अन्तर्मनको गहिराइमा उकुसमुकुस भएर बसेका भावनाहरू पोख्न वा अभिव्यक्त गर्न मातृभाषाकै आवश्यकता पर्दछ। जतिसुकै अन्य भाषाको ज्ञान भए पनि आफ्नै मातृभाषामा व्यक्त गर्दाको आनन्द, आत्मीयता र मौलिकता अरू भाषामा पाइँदैन। मनका व्यथा पोख्न होस् वा चरम आनन्दको अनुभूति व्यक्त गर्न, मानिसलाई आफ्नै मातृभाषा चाहिन्छ।

नेपाल विश्वमानचित्रमा महासागरको सानो बिन्दुजत्रो देखिए पनि हजारौँ वर्षदेखि बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजका रूपमा रहँदै आएको देश हो। यहाँ आर्य, मङ्गोल, आस्ट्रिक र द्रविड मूलका समुदायहरूको मिश्रित बसोबास रहेको छ। विभिन्न उद्गमका १४० भन्दा बढी जातजाति, १२४ भन्दा बढी भाषाभाषी तथा विविध धर्म र संस्कृतिको अवलम्बन गर्ने जनताको साझा चौतारी नेपाल हो। यही विविधता हाम्रो विशेषता र अमूल्य सम्पदा हो।

मातृभाषा र सम्पर्क भाषाका रूपमा नेपाली

नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा मात्र नभई बहुसंख्यक नेपालीहरूको साझा सम्पर्क भाषा पनि हो। उदाहरणका लागि, राई समुदायभित्र मात्रै झन्डै ३० वटा भाषा प्रचलित छन्। एक जना चाम्लिङ राईले साम्पाङ राईको भाषा बुझ्न सक्दैन। त्यस्तो अवस्थामा उनीहरूले आपसमा संवाद गर्न नेपाली भाषाकै सहारा लिनुपर्छ।

२०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपाली भाषालाई मातृभाषाका रूपमा प्रयोग गर्नेको सङ्ख्या १,३०,८४,४५७ अर्थात् ४४.८६ प्रतिशत रहेको देखाइएको छ। तथापि व्यवहारमा यो प्रतिशत अझ बढी हुन सक्ने देखिन्छ। धेरै जनजातीय समुदायका मानिसहरूले पुर्ख्यौली भाषालाई मातृभाषा उल्लेख गरे पनि व्यवहारतः उनीहरूले आमाको काखबाट सिकेको भाषा नेपाली नै रहेको पाइन्छ।

विशेषगरी सहरतिर बसाइँ सरेका जनजातीय समुदाय तथा गाउँतिर बसोबास गर्ने नेवारी समुदायमा पुर्ख्यौली भाषा प्रयोग घट्दै गएको देखिन्छ। उदाहरणका रूपमा गुल्मी, अर्घाखाँची र बाग्लुङका धेरै मगर समुदायले पुर्ख्यौली भाषा बोल्दैनन्। किन यस्तो भयो भन्ने विषय छुट्टै बहसको विषय हुन सक्छ, तर उनीहरूले बाल्यकालदेखि सिकेको भाषा नेपाली नै हो।

नयाँ पुस्ताले पनि पुर्ख्यौली भाषा सिक्न खासै चासो दिएको देखिँदैन। हाम्रो समाज मिश्रित प्रकृतिको छ। विभिन्न समुदायका मानिसहरू एउटै स्थानमा मिलेर बस्छन्। बालबालिकाका साथीहरू पनि विविध समुदायका हुन्छन्। यस्तो अवस्थामा आपसी संवादको साझा माध्यम नेपाली भाषा नै बन्छ।

अर्कोतर्फ, नेपाली इतर भाषाभाषी समुदायहरूले पनि एकअर्कासँग संवाद गर्दा नेपाली भाषाकै प्रयोग गर्छन्, किनभने सबैले सबैको भाषा बुझ्दैनन्।

भाषा बोल्नेको हुन्छ

वर्तमान विश्वका ९० प्रतिशतभन्दा बढी मुलुकहरूमा अंग्रेजी भाषा कुनै न कुनै रूपमा सरकारी कामकाज वा राष्ट्रभाषाका रूपमा प्रयोग भइरहेको छ। यसको इतिहास रोचक छ। प्राचीन समयमा जर्मनीको एउटा सानो क्षेत्रमा बस्ने जनजातिले Angle नामक भाषा बोल्थे, जसलाई आज अंग्रेजी भनिन्छ। डेनमार्क र नेदरल्यान्ड्सका केही भूभागमा पनि यो भाषा प्रचलित थियो।

पाँचौँदेखि सातौँ शताब्दीको बीचमा उक्त जनजातिले ब्रिटेनमा आक्रमण गरी शासनसत्ता आफ्नो हातमा लियो। त्यसपछि उनीहरूले आफ्नै भाषालाई राष्ट्रभाषाका रूपमा स्थापित गरे। समयक्रमसँगै त्यही Angle भाषा विकसित हुँदै आजको अन्तर्राष्ट्रिय अंग्रेजी भाषामा रूपान्तरित भयो।

आजको यथार्थ यस्तो बनेको छ कि आफ्नै भाषा नजाने पनि अंग्रेजी जान्नुपर्ने बाध्यता पैदा भएको छ। राम्रो रोजगारी प्राप्त गर्न, अन्तर्राष्ट्रिय व्यापार गर्न तथा आधुनिक विज्ञान, प्रविधि र ज्ञान हासिल गर्न अंग्रेजी भाषाको ज्ञान अपरिहार्यजस्तै बनेको छ।

भाषा अन्ततः बोल्नेको हुन्छ। पुर्ख्यौली भाषा नै मातृभाषा हुनुपर्छ भन्ने अनिवार्य छैन। युरोप वा अमेरिकामा बसोबास गर्ने नेपालीका धेरै छोराछोरी नेपाली वा आफ्ना पुर्ख्यौली भाषा जान्दैनन्। उनीहरूको मातृभाषा अंग्रेजी बनिसकेको छ।

कुनै पनि भाषा समृद्ध बन्न विभिन्न पक्षको आवश्यकता पर्दछ। जुन भाषाले अन्य भाषाका शब्दहरूलाई सहज रूपमा आत्मसात् गर्न सक्छ, त्यो भाषा त्यति नै समृद्ध बन्दै जान्छ। अंग्रेजी भाषामा ल्याटिन, जर्मन, संस्कृत, हिन्दी लगायतका भाषाका असंख्य शब्द समावेश भएका छन्। विज्ञान र प्रविधिको विकाससँग भाषाको समृद्धि प्रत्यक्ष रूपमा जोडिएको हुन्छ।

खस–आर्यहरूको पुर्ख्यौली भाषा संस्कृत हो भनिए पनि आज कति खस–आर्य संस्कृतमा संवाद गर्न सक्षम छन् ? सम्भवतः एक प्रतिशतभन्दा कम। त्यसैले मातृभाषाको वास्तविक आधार वंश वा इतिहास होइन, बाल्यकालमा आमाको काखबाट सिकिएको भाषा हो।

अस्तु।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.