एउटै गिरोहले भारतमा ५ नेपालीको मिर्गौला बेचेको खुल्यो, मुख्य नाइकेसहित दुई जना पक्राउ

Shares

 १५ भदौ ,काठमाडौं– मानव बेचबिखन अनुसन्धान ब्यूरोले एकै गिरोहले भारतमा लगेर पाँच जना नेपालीको मिर्गौला बेचेको पत्ता लागेको जानकारी दिएको छ। उक्त गिरोहका मुख्य नाइके श्याम कृष्ण भण्डारीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, गिरोहले सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ लगायतका जिल्लाका मानिसहरूलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्‍याई मिर्गौला बेच्ने गरेको थियो। प्रारम्भिक अनुसन्धानमा समूहले पीडितलाई भारतको नयाँ दिल्लीसम्म पुर्‍याउने, होटलमा राख्ने र खाने–बस्ने व्यवस्था गर्ने गरेको खुल्न आएको छ।

मुख्य नाइके भण्डारी भारतबाट नेपाल फर्किने क्रममा कञ्चनपुर नाकाबाट र सहयोगी सुजन भारती वीरगञ्ज नाकाबाट पक्राउ परेका थिए। गिरोहविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा चार वटा मुद्दा दर्ता भइसकेका छन् भने पाँच जनाले जाहेरी दिएका थिए। यसका लागि ‘अप्रेसन लाइफ फिल्ड’ नामक विशेष अनुसन्धान सुरु गरिएको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार, गिरोहले किड्नी दिन तयार हुने मानिसलाई होटलमा राखेर चिकित्सक बोलाएर रगत जाँच लगायत प्रक्रिया गर्ने गरेको थियो। पीडितलाई बेहोस बनाएर आँखामा पट्टी लगाएर अस्पतालमा ३–४ दिन राख्ने र त्यसपछि नेपाल फर्काउने गरेको पनि भण्डारीले बयानमा स्वीकारेका छन्।

भण्डारीले आफूले प्रत्येक व्यक्तिलाई ६ लाख भारतीय रुपैयाँ दिने प्रलोभनमा पार्ने गरेको बताए। तर, प्रहरीले बुझ्न पाए अनुसार पीडितमध्ये एकजनाले केवल पाँच हजार मात्र पाएका थिए। सोधपुछका क्रममा भण्डारीले हालसम्म २५ जनाको मिर्गौला निकालेर पैसा लिएको स्वीकारेका छन्। अनुसन्धानले संकेत गरेको छ कि एक सयभन्दा बढी व्यक्तिहरू मिर्गौला बेचबिखनमा संलग्न थिए।

गत साउन २० गते गिरोहका अन्य तीन जना पनि पक्राउ परेका थिए। प्रहरीले पाएको जाहेरी र बयानका आधारमा थप अनुसन्धान जारी रहेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.