१ भदौ,पाल्पा तानसेन – आज तानसेनमा ऐतिहासिक भगवती रथयात्रा भव्य रूपमा आयोजना हुँदैछ। बुटवलको जितगढी युद्धमा तत्कालीन इष्ट इण्डिया कम्पनीको अंग्रेज फौजलाई हराएको सम्झनामा हरेक वर्ष मनाइने यो पर्व यसपटक २०६औं विजयोत्सवका रूपमा मनाइँदैछ।
सन् १८१४–१५ (वि.सं. १८७१–७२) मा भएको युद्धमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले दुईपटक अंग्रेज सेनालाई पराजित गरेको थियो। युद्धमा जानुअघि थापाले भगवती मातासँग विजय प्राप्त गरेपछि सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए। सोही परम्परा अनुसार भाद्र कृष्ण जन्माष्टमीको भोलिपल्टदेखि प्रत्येक वर्ष विजयोत्सव सहित भगवती रथयात्रा मनाइँदै आएको इतिहास छ।
यस वर्ष पनि दिउँसो साढे १२ बजे शुभ साइतमा रथ उठाइने र दिनभर तानसेन बजार परिक्रमा गराएर बेलुका भगवती मन्दिरमा विसर्जन गर्ने कार्यक्रम तय गरिएको भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ।
यही अवसरमा लुम्बिनी प्रदेश सरकारले आज पाल्पा जिल्लाभर सार्वजनिक बिदा दिएको छ।






