१८ भदौ,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै हुनुहुन्छ।
चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागिता जनाउनुभएको थियो। त्यस क्रममा उहाँले बेइजिङमा आयोजना गरिएको परेडसमेत अवलोकन गर्नुभएको छ।
बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक बिदाइपछि प्रधानमन्त्री ओली आज राति करिब १० बजे नेपाल आइपुग्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियान्जिन प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको हो।
चीनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाई सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग उहाँको छुट्टाछुट्टै भेटवार्ता भएको छ।
त्यसैगरी प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट भए पनि औपचारिक द्विपक्षीय वार्ता भने भएको छैन।






