२९ साउन, काठमाडौं । पछिल्ला वर्षासँगै आएको बाढी र पहिरोले रसुवा जिल्लाका गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेसी र रसुवागढी सडकखण्डमा पुनः क्षति पुर्याएको छ।
यो सडकखण्ड पहिला २४ असारमा आएको बाढीले प्रभावित भएको थियो भने साउन १४ गते फेरि आएको बाढीले थप क्षति पुर्याएको थियो। मर्मतको काम भइरहेको बेला हिजो र आजको वर्षासँगै आएको बाढीपहिरोले सडक भत्काएको हो।
रेडियो रसुवाका अनुसार उत्तरगया गाउँपालिका–५ स्थित नौबिसे पेट्रोल पम्प नजिक करिब एक सय मिटर पक्की सडक कटान भएको छ। सडक बगेकाले उत्तरगया गाउँपालिकाको प्रशासनिक कार्यालय, वरपरका बस्ती र विद्युत आयोजना लगायतका स्थानसँगको सम्पर्क विच्छेद भएको छ। सो क्षेत्रमा दुई घर र पेट्रोल पम्प पनि जोखिममा छन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेसी र रसुवागढी सडकखण्डका विभिन्न ठाउँमा क्षति पुगेको जानकारी दिए। त्यसैले नेपाल–चीन व्यापारिक नाका क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध भएको उनले बताए।
उनका अनुसार बुधबार रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले प्रभावित सडक क्षेत्रको अनुगमन गरेको थियो। टोलीले सडक मर्मतका लागि कार्य जिम्मेवारी बाँडफाँट गरेको उनले बताए।
निर्णय अनुसार उत्तरगया गाउँपालिकाले सडक निर्माणका लागि कामदार, रङ र टिपरको व्यवस्था गर्नेछ। गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडक आयोजनाले ग्याबिन, ज्याला, प्राविधिक सुपरिवेक्षण र उपकरण उपलब्ध गराउनेछ।
माथिल्लो त्रिशुली थ्री बी जलविद्युत परियोजनाले लोडर प्रदान गरी माटो–ढुंगा हटाउने छ भने माथिल्लो त्रिशुली–१ आयोजनाले स्काभेटर, क्रेन र प्राविधिक सहयोग गर्नेछन्। रसुवा र नुवाकोट सुरक्षा समितिले आवश्यक सुरक्षा प्रबन्ध र पुनर्निर्माण अवरोध हटाउन सहयोग गर्नेछ।
त्यसैगरी रेडियो लाङटाङका अनुसार गएराति सिम्ले–भोर्ले सडकखण्डअन्तर्गत डडारे खोलामा ठूलो पहिरो गएको छ। कालिका गाउँपालिका वडा नं. ३ स्थित डिलखेत बस्ती जोखिममा परेको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार सूचना जारी गर्दै वर्षा र बाढीको जोखिम भएकोले भोटेकोशी, त्रिशुली, लाङटाङ खोला, चिलिमे खोला र जिल्लाका अन्य नदी/खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।






