परिवर्तनशील मानव चेतना र ऋषिपञ्चमीको सान्दर्भिकता

Shares

१२ भदौ, बुटवल- मानव सभ्यता स्थिर छैन, यो निरन्तर परिवर्तनको यात्रामा छ। प्रत्येक मानिस जन्मदेखि मृत्युसम्म परिवर्तन अनुभव गर्छ, त्यसरी नै समाज र सभ्यता पनि बदलिरहन्छ। सुरुका दिनमा मानिस जात, वर्ग वा धर्मका सीमाबिना स्वतन्त्र थिए। छुवाछुत भन्ने कुरा नै थिएन। तर समाजलाई व्यवस्थित बनाउन खोज्दा विभाजनहरू देखा परे, प्रथाहरू बने र कानुनहरू जन्मिए।

वेदकालको कुरा गर्दा एउटा मात्र वेद थियो भन्ने भनाइ पाइन्छ। पछि आवश्यकताले त्यसलाई चार भागमा विभाजन गरियो। त्यस्तै, विवाह वा पारिवारिक संरचना पनि आजजस्तो स्पष्ट र व्यवस्थित थिएन। राज्यव्यवस्था भन्ने कुरा नै थिएन। तर समाजलाई सुरक्षित र सामूहिक प्रगतितर्फ लैजान नियम र संयन्त्र आवश्यक भयो, त्यसपछि राज्य बने र त्यसका अंग र कानुनहरू तयार भए। यसले देखाउँछ कि सामाजिक वा धार्मिक व्यवस्था जुनसुकै होस्, सबै मानिसकै आवश्यकताबाट बनेका हुन्।

प्रकृतिमा जस्तै मानव चेतनामा पनि निरन्तर परिवर्तन हुन्छ। घाम उदाउँछ, डुब्छ; मौसम बदलिन्छ; नदी बगिरहन्छ। पृथ्वीमा पहिले रहेका प्राणीहरू आज हराइसकेका छन्। पूजा–पद्धतिहरू पनि समयअनुसार बदलिँदै आएका छन्। मानिस सभ्य बन्दै जाँदा जीवनलाई सहज बनाउन विभिन्न व्यवस्था थपिँदै गए—रजस्वला व्यवस्थापन, सुत्केरी व्यवस्थापन र अन्य संस्कारहरू त्यही प्रक्रियाका उदाहरण हुन्। तीमध्ये कतिपय कुरा आज पनि उपयुक्त छन् भने कतिपय समयको मागअनुसार फेरिनुपर्छ। यही परिवर्तनशीलता धर्म, देवता र समाजका अभ्यासमा पनि देखिन्छ। शास्त्रमा इन्द्र वा सप्तर्षि समूह समयसँगै बदलिएका छन् भन्ने उल्लेख पाइन्छ।

ऋषिपञ्चमी पनि यस्तै चेतना र बदलाबसँग जोडिएको पर्व हो। कुनै समय, कुनै ऋषि वा ग्रन्थकारले समाजको हितका लागि यसलाई महत्त्व दिए। त्यो समयमा त्यो अभ्यास उपयुक्त थियो। तर आज चेतनाले नयाँ सवालहरू उठाएको छ, सोच बदलिएको छ। त्यसैले यस पर्वलाई लिएर विवाद गर्नु आवश्यक छैन। जसलाई विश्वास छ, उनले पूजा गर्न सक्छन्। जसलाई लाग्दैन, नगरे पनि हुन्छ। राज्यले यसलाई अनिवार्य भनेको छैन। धर्म र विश्वास अन्ततः व्यक्तिगत छनोट हो।

यस पर्वको वास्तविक मर्म भनेको ऋषिमुनिहरूप्रतिको श्रद्धा र कृतज्ञता हो। उनीहरूले दिएका ज्ञान, शास्त्र र चेतनाका कारण नै हामी सभ्य बनेका छौँ। हामी व्यस्त जीवनशैलीमा वर्षभरि पुर्खाहरूलाई सम्झन नसके पनि, वर्षमा एक दिन उनीहरूको योगदान सम्झनु कृतज्ञताको संकेत हो। जसरी हामी शिक्षक दिवस, मातृ दिवस वा पितृ दिवस मनाउँछौँ, त्यसरी नै ऋषिपञ्चमीलाई पुर्खाप्रतिको सम्झना र सम्मानको दिनका रूपमा लिन सकिन्छ। यो दिन अन्धविश्वासका लागि होइन, ज्ञानका पुर्खाहरूलाई सम्झेर धन्यवाद दिनका लागि हो।

शास्त्रमा रजस्वलाबारे एउटा महत्त्वपूर्ण श्लोक पाइन्छ:
“भष्मना शुद्ध्यते काँश्यं ताम्रमम्लेन शुद्ध्यति ।
रजसा शुद्ध्यते नारी नदी वेगेन शुद्ध्यति ।।”

यसको अर्थ हो—काँसको भाँडो खरानीले शुद्ध हुन्छ, तामाको भाँडो अमिलोले शुद्ध हुन्छ, नारी रजस्वलापछि शुद्ध हुन्छिन् र नदी निरन्तर बगिरहेकै कारण शुद्ध रहन्छ। यो व्याख्याले रजस्वलालाई कुनै अशुद्धता होइन, बरु जीवनको प्राकृतिक चक्रका रूपमा स्वीकार गरेको छ। तर पछि समाजका व्याख्याले यसलाई फरक अर्थ दिए र कतिपय ठाउँमा अन्धविश्वासमा परिणत गरिदिए।

आजको आवश्यकता भनेकै यही हो—जानेर गरे विज्ञान, नजानेर गरे अन्धविश्वास। यदि कुनै अभ्यासले स्वास्थ्य र समाजलाई फाइदा पुर्याउँछ भने त्यो विज्ञान हो। तर विवेक प्रयोग नगरी, कारण नबुझी डर र अन्धविश्वासका आधारमा गरिएको अभ्यास हानिकारक बन्न सक्छ।

त्यसैले ऋषिपञ्चमीलाई अन्धविश्वासको रूपमा होइन, पुर्खाप्रतिको श्रद्धा र सम्मानका रूपमा लिनुपर्छ। यस पर्वको मूल सन्देश भनेकै हाम्रो ज्ञानका पुर्खाप्रति कृतज्ञता हो। समाज बदलिन्छ, नियम फेरिन्छ, चेतना बढ्छ। तर श्रद्धा, विवेक र कृतज्ञताले भरिएको अभ्यास भने सधैँ सान्दर्भिक रहन्छ। श्रद्धा र विश्वास हरेक व्यक्तिको स्वेच्छा हो। मान्नेले मानून्, नमान्नेले नमानून्, तर अरूलाई हानी नपुग्ने गरी विवेकपूर्ण ढङ्गले अघि बढ्नु नै सही बाटो हो।

सबैलाई ऋषिपञ्चमीको शुभकामना। 

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.