२२ असोज , अर्घाखाँची — अर्घाखाँची सम्पर्क समिति यूएईले जिल्ला सदरमुकाम सन्धिखर्कको मञ्च लाइनमा निर्माण गरेको दुई थान बिश्राम स्थल एक विशेष समारोहका बीच औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
जिल्लास्थित सरकारी कार्यालयहरूमा सेवा लिन आउने सर्वसाधारणको सुविधालाई ध्यानमा राखी निर्माण गरिएको उक्त बिश्राम स्थल हस्तान्तरण समारोहमा सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, पत्रकार, राजनीतिक दलका जिल्ला प्रतिनिधि, नेपालमा रहेका संस्थाका अग्रज तथा आजीवन सदस्यहरू, युएईबाट बिदामा आएका पदाधिकारी तथा सदस्यहरू लगायत अर्घाखाँचीवासी दाजुभाइ दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता निर्माण तथा हस्तान्तरण समितिका संयोजक र संस्थाका उपाध्यक्ष ओम केसीले गर्नुभएको थियो। स्वागत मन्तव्य सल्लाहकार नारायण भाटले प्रस्तुत गर्नुभयो भने कार्यक्रम सञ्चालन महासचिव अमित पाण्डेले गर्नुभयो।
उक्त अवसरमा प्रमुख अतिथि सहित अन्य अतिथिहरूले शुभकामना मन्तव्य दिँदै विदेशमा रहेर समाजसेवामा योगदान दिइरहेका अर्घाखाँचीवासीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। संस्थाका वरिष्ठ सल्लाहकार राजु खड्कालगायत अग्रजहरूले अर्घाखाँची सम्पर्क समिति यूएईले विगतका विभिन्न समयमा समाजसेवामूलक कार्य गर्दै प्रवासमा अर्घेलिहरूबीच एकता र सहकार्यको भावना बलियो बनाएको उल्लेख गर्नुभयो।

संस्थाले बिश्राम स्थल निर्माण कार्यमा सल्लाह, सुझाव र सहयोग प्रदान गर्ने सम्पूर्ण अग्रजहरू, आजीवन सदस्यहरू, कार्यसमितिका पदाधिकारीहरू तथा निर्माण कार्यमा आरम्भदेखि अन्त्यसम्म खटिने सबैप्रति हृदयदेखि आभार प्रकट गरेको छ। समितिका अध्यक्ष जेपी पोखरेलले आगामी दिनहरूमा पनि यसैगरी सामाजिक सहकार्य र हातेमालोका कार्यहरू निरन्तर अघि बढाउने प्रतिवद्धता जनाएको समितिका अध्यक्ष जेपी पोखरेलले जानकारी दिनुभयो।







