२ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्ध अन्त्य गर्न युक्रेनले रुसका सर्तहरू स्वीकार्नुपर्ने बताएका छन्।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँगको भेटअघि ट्रम्पले शान्ति सम्झौताको लागि युक्रेन नेटोमा प्रवेश नगर्ने र क्रिमिया फिर्ता नपाउने दुवै विषयलाई शर्तको रूपमा अघि सारेका हुन्। “यदि उनी (जेलेन्स्की) चाहन्छन् भने तुरुन्तै रुससँगको युद्ध अन्त्य गर्न सक्छन्,” ट्रम्पले भनेका छन्।
ट्रम्पले ह्वाइट हाउसमा जेलेन्स्कीसँग भेट्नु अघि दिएको अभिव्यक्तिमा, क्रिमिया सन् २०१४ मा रूसले कब्जा गरिसकेको र यो अब फिर्ता नआउने पनि दाबी गरेका छन्।
यसअघि अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको शिखर बैठकपछि ट्रम्पले युद्धविराम मात्र होइन, स्थायी शान्ति सम्झौताका लागि पहल गर्नुपर्ने बताएका थिए। जेलेन्स्कीलाई अमेरिकी निमन्त्रणामा वाशिङटन बोलाइएको छ।
युक्रेनले भने यी दुवै सर्त मान्न नसकिने स्पष्ट गर्दै आएको छ। नेटोमा सदस्यता आफ्नो सार्वभौमिक अधिकार भएको भन्दै युक्रेनले गठबन्धनमा सामेल हुने चाहना पुनः दोहोर्याएको छ।
यसैबीच, युरोपेली नेताहरूले ट्रम्प–जेलेन्स्की भेटलाई नजिकबाट नियाली रहेका छन्। बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरसहित फ्रान्स, जर्मनी, इटाली, फिनल्यान्ड र युरोपेली आयोगका शीर्ष नेताहरूले युक्रेनलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जेलेन्स्कीले पनि सामाजिक सञ्जालमार्फत ट्रम्पको निमन्त्रणाप्रति आभार व्यक्त गर्दै “युद्धलाई छिटो र भरपर्दो ढंगले अन्त्य गर्ने हाम्रो साझा इच्छा हो” भनेका छन्। उनले सहयोगी राष्ट्रहरूसँग प्रभावकारी सुरक्षा ग्यारेन्टी आवश्यक भएको उल्लेख गरेका छन्।
यसैबीच अमेरिकी दूत स्टीभ विट्कोफले CNN सँग कुरा गर्दै पुटिन “गेम–चेन्जिङ” सुरक्षा सम्झौतामा सहमत भएको दाबी गरेका छन्। यस्तो सम्झौताले नेटोको धारा ५ जस्तै युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने सम्भावना रहेको उनले बताएका छन्।
यद्यपि, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्पले जेलेन्स्कीलाई धम्की दिएको भन्ने अनुमानलाई “मिडियाको गलत कथा” भन्दै खारेज गरेका छन्।
उता, मस्कोले आक्रमण जारी राखिरहेको छ। २०२२ को फेब्रुअरीदेखि सुरु भएको पूर्ण आक्रमणपछि रूसले युक्रेनको करिब पाँच भागमध्ये एक भाग कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।






