अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शनिबार बिहान टेलिफोन वार्ता गरेका छन्।
ट्रम्पले यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा करिब तीन घण्टा लामो वार्ता गरेका थिए। सो बैठकपछि वाशिङ्टन फर्कँदै गर्दा उनले एयरफोर्स वानमार्फतै युक्रेनी राष्ट्रपति जेलेन्स्की र नेटो सदस्य युरोपेली नेताहरूसँग कुरा गरेका हुन्।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटका अनुसार राष्ट्रपति ट्रम्पले अलास्कामा पुटिनसँग भएको भेटवार्ता र छलफलको प्रगतिबारे जानकारी दिन फोन संवाद गरेका थिए।
वार्तापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू सोमबार वाशिङ्टन डिसी जाने घोषणा गरेका छन्। उनले ट्रम्पकै निम्तोमा अमेरिकाको यात्रा गर्न लागेको स्पष्ट गर्दै, “सोमबार वाशिङ्टन पुगेर राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष भेट गर्नेछु। युक्रेनमा जारी हत्या र युद्ध अन्त्यका उपायबारे छलफल गर्न आतुर छु। निम्ताका लागि आभारी छु,” भनेका छन्।
जेलेन्स्कीले युक्रेनमा शान्ति कायम गर्न आफू अधिकतम प्रयत्न गर्न तयार रहेको पनि बताएका छन्। उनका अनुसार ट्रम्पले पुटिनसँगको अलास्का वार्ताका मुख्य विषयबारे जानकारी गराएका थिए। उनले भने, “अहिलेको परिस्थिती बन्नुमा अमेरिकाको भूमिका महत्त्वपूर्ण छ।”
युक्रेनमा जारी युद्ध, त्यसको समाधानका सम्भावित विकल्प र पश्चिमी मुलुकहरूको समर्थनबारे ट्रम्प–जेलेन्स्कीबीचको आगामी भेटलाई निर्णायक नजरले हेरिएको छ।






