किसानमैत्री नीति ल्याउन सरकारलाई माओवादी केन्द्रको आग्रह

Shares

१३ भदौ,काठमाडौं । उखु किसानले बक्यौता रकम नपाएर माइतीघर मण्डलामा अनशन बस्नुपरेको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गम्भीर ध्यानाकर्षण गराएको छ। पार्टीले सरकारले समर्थन मूल्य घटाएको निर्णयलाई किसान–विरोधी र गैरजिम्मेवार ठहर गरेको छ।

माओवादी केन्द्रका प्रवक्ता एवम् उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा विगतमा पार्टी नेतृत्वको सरकारले किसानलाई न्याय दिने उद्देश्यले उखुको समर्थन मूल्यमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान तोकेको स्मरण गरिएको छ। तर अहिलेको सरकारले उक्त अनुदान घटाएर ३५ रुपैयाँमा सीमित गरेको भन्दै यसले किसानलाई झन् संकटमा पारेको उल्लेख गरिएको छ।

“उत्पादन लागतसमेत धान्न नसक्ने गरी अनुदान घटाउने निर्णयले पहिल्यै बक्यौताले पिल्सिएका किसानमाथि थप अन्याय गरेको छ,” विज्ञप्तिमा भनिएको छ।

माओवादी केन्द्रले आन्दोलनरत किसानको जायज मागलाई समर्थन जनाउँदै तत्काल सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारलाई आग्रह गरेको छ। साथै किसानमैत्री ढंगले समर्थन मूल्य र अनुदान पुनः निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

सापकोटाले किसानलाई उत्पादन प्रणालीको मेरुदण्ड र राष्ट्रको अर्थतन्त्रको आधारशीला भन्दै उनीहरुको मनोबल उच्च राख्न र व्यवसायिक प्रवद्र्धनका लागि अनुकूल वातावरण बनाउन सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन्।

विज्ञप्तिमा चेतावनी दिइएको छ, “यदि सरकारले किसानका माग बेवास्ता गरिराखे हाम्रो पार्टी किसानसँगै उभिएर संघर्षलाई अझ व्यापक र सशक्त बनाउनेछ।”

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.