१४ भदौ, बुटवल-नेकपा एमाले लुम्बिनी प्रदेश स्कुल विभागले पार्टी सञ्चालन र व्यवस्थापनमा केन्द्रित तीनदिने प्रशिक्षण शुक्रबारदेखि बुटवलको जीवराज स्मृति प्रतिष्ठानमा सुरु भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले पालिकास्तरीय अध्यक्षलाई दिइने यो प्रशिक्षणले पार्टीलाई अझ चुस्त, गतिशील र परिणाममुखी बनाउन मद्दत गर्ने बताए। उनले एमालेलाई देशकै उत्कृष्ट र जनमुखी पार्टी बनाउन संगठन, विचार र कार्यदक्षतालाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए।
सो अवसरमा केन्द्रीय सल्लाहकार परिषद्का सदस्य डा. रामचन्द्र आचार्यले प्रशिक्षणलाई प्रविधि र परिवेशमैत्री बनाउनुपर्नेमा जोड दिए। स्कुल विभागका उपप्रमुख दलबहादुर गुरुङले तालिमको उद्देश्य, औचित्य र समापनपछिका सकारात्मक परिणामबारे प्रष्ट पारे। उनले गुल्मी, पाल्पा र अर्घाखाँचीका २८ पालिकाका अध्यक्ष, जिल्ला लेखा कमिटी अध्यक्ष तथा पार्टी स्कुल विभागका प्रमुख र उपप्रमुखलाई स्वागत गरे।
भाद्र १३ देखि १५ गतेसम्म हुने यस बन्द प्रशिक्षणमा विभिन्न ९ विषयमा प्रशिक्षण दिइनेछ। प्रशिक्षकका रुपमा भोजप्रसाद श्रेष्ठ, दलबहादुर गुरुङ, युवराज घिमिरे, डीआर घिमिरे, कल्पना थापा, डा. डिल्लीराज अर्याल, बाबुराम बिक, बद्री खनाल र नरबहादुर घर्ती सहभागी हुनेछन्। उनीहरूले बैठक सञ्चालन, माइन्यूट लेखन, तालिम व्यवस्थापन, विकास निर्माणमा एमालेको दृष्टिकोण, बजेट निर्माण प्रक्रिया, लेखाविधि, प्रचारशैली, जनसंगठन र पार्टीबीच समन्वय, पार्टी सञ्चालन तथा व्यवस्थापन र अर्थ–राजनीतिजस्ता विषयमा प्रशिक्षण दिनेछन्।
उद्घाटन सत्र प्रदेश पार्टी स्कुल विभागका प्रमुख भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो भने सञ्चालन विभागका सचिव युवराज न्यौपानेले गरेका थिए। यसअघि पहिलो चरणमा नवलपरासी, रुपन्देही र कपिलवस्तुका पालिकास्तरीय अध्यक्षलाई पनि यस्तै प्रशिक्षण दिइएको थियो।








