३१ साउन, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय पार्टी स्कुल विभागले “रूपान्तरणका लागि अध्ययन संस्कार : पठन र अनुभूति” शृङ्खलाअन्तर्गत आज विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले भूमिगत जीवनका अनुभवहरू समेटिएको कृति ‘सेल्टर’ बारे आफ्नो मनोभाव व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन विभाग सदस्य वाइपी आचार्यले गर्नुभएको थियो। पोख्रेलले प्रस्तुत गरेका विचारपछि सहभागीहरूसँग प्रश्नोत्तर तथा छलफलको चरण राखिएको थियो, जहाँ उपस्थितहरूले जिज्ञासा राखी स्पष्ट जवाफ पाए। यस क्रममा पूर्वका “सेल्टरदाताहरू”ले पनि आफ्ना अनुभूतिहरू बाँडे, जसले कार्यक्रमलाई अझ जीवन्त र भावनात्मक बनाएको विभागका सचिव घनश्याम कोइरालाले बताउनु भयो।
यसैबीच, विभागका सचिव घनश्याम कोइरालाले पार्टीको रूपान्तरण यात्रामा अध्ययन संस्कृतिको महत्त्वबारे जोड दिँदै यस्ता कार्यक्रम केवल केन्द्रमा मात्र नभई प्रदेश तथा स्थानीय तहमा समेत निरन्तर अघि बढाउनुपर्ने ‘आवश्यकता रहेको बताउनु भयो’ ।

कार्यक्रमको अर्को विशेषता भनेकै घनश्याम कोइरालाद्वारा लिखित पुस्तक ‘बन्छ नेपाल’ को विमोचन थियो। पुस्तकलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो। विमोचन अवसरमा पुस्तकका सम्पादक विशाल आचार्य र संकलनकर्ता रूपेश आचार्यलाई सम्मानस्वरूप खादा अर्पण गरिएको थियो।
कार्यक्रममा पार्टी सल्लाहकार परिषद् अध्यक्ष अमृत बोहोरा, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, सल्लाहकार परिषद्का सदस्य गोपाल शाक्यलगायत नेताहरूको सक्रिय उपस्थिति थियो। करिब १०० जनाको सहभागिता रहेको कार्यक्रममा पञ्चायती कालमा नेताहरूले भोगेका भूमिगत जीवनका कथाहरूलाई समेटिएको ‘सेल्टर’ पुस्तकको गहन अध्ययन र विमर्श भएको थियो।
सहभागीहरूले कार्यक्रम निकै फलदायी र ज्ञानवर्धक रहेको प्रतिक्रिया दिँदै यस्ता प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन।







