२१ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आज पनि जारी रहनेछ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा हिजो बाँकी रहेका प्रतिवेदनहरू प्रस्तुत गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
आज केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन्।
महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन पेस गरेका थिए।
आजै प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरी प्रस्तुत प्रतिवेदनमाथि छलफल गरिने छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित शुक्रबारबाट सुरु भएको महाधिवेशनमा देशभरका २,०२६ प्रतिनिधि र ३१५ आयोजक गरी कुल २,३४१ जना सहभागी छन्।
महाधिवेशन आइतबारसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।






