२० भदौ,काठमाण्डौ – नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुदैछ। महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ। यसअघि हिजो बसेको सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको थियो।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन्। त्यस्तै महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्। स्थायी कमिटी सदस्य कर्ण थापाले भने फरक मत राख्दै असहमतिको दस्तावेज दर्ता गराइसकेका छन्, जसलाई महाधिवेशनमा प्रस्तुत गरिनेछ।
कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले पनि आफ्ना प्रतिवेदन पेश गर्ने एमालेले जनाएको छ।
तीन दिन चल्ने महाधिवेशनमा देशभरबाट आएका दुई हजार २६ जना प्रतिनिधिसहित आयोजकको हैसियतमा थप ३१५ जना सहभागी हुनेछन्। यसरी सहभागी संख्या दुई हजार ३४१ पुगेको छ।
कर्ण थापाको फरक दस्तावेजमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णयलगायत पाँच बुँदामा असहमति प्रकट गरिएको छ। उनले पार्टीमा आन्तरिक लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन जोड दिएका छन्। साथै एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने र उमेर सीमा ७० वर्ष कायम गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन्। तर विधान संशोधन प्रस्तावमा यी दुवै प्रावधान समावेश गरिएको छैन।
हिजोको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता नदिने निर्णय पुनर्विचार गर्न माग गरेका थिए। तर अध्यक्ष ओली भने निर्णय पुनर्विचार नहुने अडानमा रहेका छन्।






