१५ मंसिर, चितवन — जिल्लामा एचआईभी/एड्सका सङ्क्रमितमध्ये यौन रोगको संक्रमण बढ्दो देखिएको छ। भरतपुर अस्पतालका अनुसार हालसम्म पहिचान भएका एचआईभी/एड्स संक्रमितमध्ये ३५ जनामा यौन रोग ‘भिरिङ्गी’ भेटिएको छ।
वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार विगत १० महिनामा १,०४० जनामा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा यौन रोग पत्ता लागेको हो। असुरक्षित यौन सम्पर्कका कारण संक्रमितहरूमा यौन रोगको जोखिम बढ्दै गएको उनले बताए।
अस्पतालको तथ्यांकअनुसार एचआईभी संक्रमितमध्ये सात जनामा क्षयरोग (टीबी) समेत देखिएको छ। ९३ जनामा गरिएको परीक्षणमा सो सङ्ख्यामा टीबी पोजिटिभ भेटिएको हो। हाल जिल्लामा १,२४३ जना एचआईभी संक्रमित रहेका छन्। तीमध्ये ३४ जनाले माडीको बघौडा अस्पतालबाट र १,२०९ जनाले भरतपुरस्थित एआरटी सेन्टरबाट औषधि सेवन गरिरहेका छन्।
डा. पौडेलका अनुसार पछिल्ला १० महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको परीक्षणमा ६६ जना नयाँ एचआईभी संक्रमित पहिचान भएका छन्। २८५ जनामा गरिएको परीक्षणमा सो सङ्ख्या पोजिटिभ भेटिएको र एआरटी सेन्टरमा १०४ जना नयाँ बिरामी थपिएको उनले जानकारी दिए। संक्रमितसँगै अन्य जिल्लाबाट स्थानान्तरण भएका बिरामी पनि यही केन्द्रबाट सेवा लिने गरेको बताइएको छ।
भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार केन्द्रबाट औषधि सेवन गर्दै आएका ६५ जना बिरामी अन्य ठाउँमा स्थानान्तरण भएका छन् भने २८ जनाले औषधि छोडेका छन्। यहाँका संक्रमितमध्ये १३ जनाको मृत्यु भइसकेको पनि उनले बताए।
उनका अनुसार समाजमा एचआईभी संक्रमितप्रति दृष्टिकोणमा पर्याप्त परिवर्तन आइनसकेको कारण संक्रमितलाई उपचारका लागि अस्पताल ल्याउनसमेत एम्बुलेन्स चालकहरूले कठिनाइ अनुभव गर्ने गरेका छन्।






