२३ असोज, काठमाडौं — ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक क्षेत्रीय छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार राति सम्पन्न समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै सानदार जित निकालेको हो।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो। ओपनर कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै उत्कृष्ट ६६ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए भने गुल्शन झाले ६ बलमा तीन छक्का सहित आक्रामक २० रन बनाए। उनले १९औं ओभरको अन्तिम तीन बलमा लगातार तीन छक्का हाने।
कुवेतका लागि अनुदीप चेन्थामाराले २२ रन खर्चेर २ विकेट लिए भने नवीन राजले ४० रन दिएर २ विकेट लिए। मोहम्मद असलम र अकिफ फारुकले एक–एक विकेट लिए।
१४२ रनको लक्ष्य पछ्याउन उत्रिएको कुवेत १८.१ ओभरमा मात्र ८३ रनमै अलआउट भयो। कुवेतका क्लिन्टो अन्टोले २६ र यासिन पटेलले १९ रन बनाए।
नेपालका बलरहरू निकै प्रभावशाली रहे। ललित राजवंशी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान २–२ विकेट लिए। सोमपाल कामी, कुशल भुर्तेल र नन्दन यादवले पनि एक–एक विकेट लिए।
यस जितसँगै नेपाल सुपर सिक्स चरणमा प्रवेश गर्न सफल भएको छ। अब नेपालले समूह चरणको दोस्रो खेलमा शुक्रबार जापानको सामना गर्नेछ।






