काठमाडौं, १४ साउन / श्रम संस्कृति पार्टीका सांसद आरेन राईले वर्तमान सरकारले मुलुकको अवस्थाप्रति आवश्यक गम्भीरता नदेखाएको आरोप लगाउँदै देश सञ्चालन गर्न नसक्ने अवस्था भए जिम्मेवारीबाट पछि हट्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले सरकार अहिले निष्क्रिय भएर बस्ने समय नभएको बताए। उनले जनतासँग प्रत्यक्ष संवाद, सूचना संकलन तथा शान्ति–सुरक्षा कायम गर्न सरकार सक्रिय रूपमा परिचालन हुनुपर्ने धारणा राखे।
सरकारले अभिभावकीय भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको टिप्पणी गर्दै उनले देश र जनतालाई नेतृत्वविहीन अवस्थामा छोड्न नहुने बताए।
“यदि प्रधानमन्त्री वा वर्तमान सरकारले देश चलाउन नसक्ने अवस्था हो भने त्यसलाई स्वीकार गरेर मार्ग प्रशस्त गर्नुपर्छ,” उनले भने। साथै, संसदमा २७५ जना सांसद रहेको उल्लेख गर्दै सक्षम नेतृत्वले देशको जिम्मेवारी सम्हाल्न सक्ने उनको भनाइ थियो।
सांसद राईले सरकारलाई जिम्मेवारीबाट नभागी प्रभावकारी रूपमा काम गर्न आग्रह गर्दै सक्रिय रूपमा नेतृत्व गर्न वा देश सञ्चालन गर्न नसक्ने अवस्था स्वीकार गर्नुपर्ने बताए।
उनले सुनसरी घटनापछि सर्वदलीय बैठक आयोजना गरिएको विषयलाई सकारात्मक कदमको रूपमा उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रशंसा गरे। सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल र नागरिक एकजुट हुनुपर्ने तथा त्यसको नेतृत्व सरकारले लिनुपर्नेमा उनले जोड दिए।




