बाढीले सडक, पुल र जलविद्युत् आयोजनामा ठूलो क्षति, ७८३ मेगावाट प्रभावित

Shares

१२ असोज, काठमाडौं । ९ असोजयता परेको लगातार वर्षा र बाढीका कारण सडक, पुल, खानेपानी तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार बाढीका कारण कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको पोखरेबगर, बागलुङको मालढुंगा तथा तनहुँ–नवलपरासीको देदगाउँस्थित पुलका एप्रोच सडक बगाएका छन्। कालीगण्डकी क्षेत्रमा एउटा पक्की पुलसमेत बाढीले बगाएको मन्त्रालयले जनाएको छ।

कालीगण्डकी करिडोरका विभिन्न सडकखण्डसँगै डुम्रे–बेँसीसहर–चामे सडकखण्डमा पनि ठूलो क्षति पुगेको प्रारम्भिक विवरण छ।

रामबजार–स्याङ्गे, लमजुङमा मर्स्याङ्दी नदीको कटानका कारण करिब ४० मिटर सडक पूर्णरूपमा भासिएको छ। मनाङको नासो–खोत्रोमा ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ भने नासो–बगरछाप क्षेत्रमा मर्स्याङ्दी नदीको कटानका कारण करिब ५० मिटर सडक भासिएको छ।

मनाङको चामे क्षेत्रमा बाढीले तीनवटा अस्थायी काठे पुल समेत बगाएको छ। बाढी तथा पहिरोका कारण काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनौं सडकमा क्षति पुगेको छ।

त्यस्तै, रुकुम पूर्वको नाथीगाड झोलुङ्गे पुल तथा बागलुङ–पर्वत जलजला फोर्से झोलुङ्गे पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। तनहुँ–नवलपुर, स्याङ्जा–पाल्पा, पाल्पा–तनहुँ, पर्वत–स्याङ्जा तथा म्याग्दी–पर्वत जोड्ने विभिन्न झोलुङ्गे पुलमा पनि आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

बाढी र पहिरोका कारण ३१ वटा खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ। मन्त्रालयका अनुसार क्षतिग्रस्त सडक पुनः सञ्चालन गर्ने काम सुरु भइसकेको छ भने विभिन्न सडकखण्डमा मर्मत तथा पुनःनिर्माणको काम तीव्र रूपमा भइरहेको छ।

जलविद्युत् क्षेत्रमा १ खर्ब ३४ अर्बभन्दा बढी क्षति

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीले जलविद्युत् आयोजनामा पनि ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार जलविद्युत् क्षेत्रमा मात्रै १ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

बाढीका कारण कुल ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावितमध्ये कालीगण्डकी जलविद्युत् आयोजना सोमबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

पुनर्निर्माण तत्काल अघि बढाउने तयारी

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आइतबार बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए। देशभर बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएपछि विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल भएको थियो।

मन्त्री लम्सालले पछिल्लो तीन दिनमा बाढी र वर्षाका कारण क्षति पुगेका सडक, पुल, झोलुङ्गे पुल, खानेपानी लगायतका संरचनाको क्षति मूल्यांकन गरी तत्काल बजेट व्यवस्थापन गर्ने बताएका छन्।

उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी टेन्डरमार्फत पुनर्निर्माणको काम अघि बढाइनेछ र असोजभित्रै पुनर्निर्माणका काम सुरु गर्ने तयारी गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.