मन्त्री बन्ने सूचीबाट काटियो संगीता मिश्रको नाम

Shares

काठमाडाै मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम काटिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्यमन्त्रीमा राखेर पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्।

तर मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान गरिरहेकाले आज उनको नाम काटेर पुन: चार जनाको नाम मात्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको हो।

‘हिजोको सूची सच्याएर आज पुन: चार मन्त्रीकाे नाम मात्र पठाइएको छ’, मन्त्रिपरिषद् स्रोतले भन्यो ‘मिश्रको नाम हटाइएको छ।’

जसका कारण आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र शिक्षामन्त्री महावीर पुनले मात्र शपथ खाने छन्।

‘अहिलेलाई स्वास्थ्यमन्त्री पद खाली नै राखिएको छ’ , स्रोतले थप्यो।

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी डा. मिश्र नागरिकता र अनियमितता विवादमा परेकी थिइन्।

यसअघि रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात)  र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिला) मन्त्री बनिसकेका छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री पदमा नियुक्ति गरेका हुन्। लगत्तै संसद् विघटन गरी आगामी फागुन २१ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचन पनि घोषणा भइसकेको छ।

कार्की नेतृत्वको अन्तरिम सरकारको प्रमुख जिम्मेवारी ६ महिनाभित्र उक्त चुनाव सम्पन्न गराउनु हो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.