काठमाडौं, ९ असार — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा क्षेत्र नम्बर ३ का सभापति भोला कुमार साह कानुले आफूलाई महाधिवेशन प्रतिनिधिको अन्तिम सूचीबाट हटाइएको दाबी गरेका छन्।
साह कानुका अनुसार प्रारम्भिक रूपमा प्रकाशित महाधिवेशन प्रतिनिधिको सूचीमा उनको नाम समावेश थियो। तर, सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेपछि सार्वजनिक गरिएको अन्तिम नामावलीमा आफ्नो नाम नरहेको उनले बताएका छन्।
“मैले सभापतिमा उम्मेदवारी दिने कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थिएँ। सुरुमा प्रकाशित प्रतिनिधिको सूचीमा मेरो नाम थियो, तर अन्तिम सूचीमा हटाइएको छ,” उनले बताए।
महाधिवेशन प्रतिनिधिको अन्तिम सूचीमा मधेस प्रदेशतर्फ २०२ नम्बरमा रहेको उनको नाममा रातो चिन्ह लगाइएको देखिएको छ।
साह कानुले यसअघि सामाजिक सञ्जालमार्फत पार्टीका पूर्व जिल्ला सभापति चन्दन स्वर्णकारको सदस्यता कायम गरिनुपर्ने माग राख्दै पार्टी सभापति रवि लामिछाने विरुद्ध सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए।
उनको दाबीबारे पार्टी नेतृत्व वा निर्वाचन समितिले भने हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।





