२९ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटनबारे दलहरूको सुझाव लिनका लागि आयोजना गरेको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी हुन सकेन ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा विभिन्न राजनीतिक दलका नेताहरूबीच छलफल जारी रहँदा रास्वपाबाट भने कुनै पनि प्रतिनिधि उपस्थित भएनन् ।
रास्वपाका नेता सन्तोष परियारले बिहान ११ बजे पार्टी सचिवालय बैठक तय भइसकेको कारण सभामुखको बैठकमा उपस्थित हुन नसकिएको बताए । उनले भने, “पार्टीको आन्तरिक कामका कारण हामी उपस्थित हुन सक्ने स्थिति थिएन, यो कुरा सभामुखलाई जानकारी गराइसकेका छौं।”
रास्वपाको सचिवालय बैठक पनि सोही समयमा बस्दैछ । त्यसैले सभामुखले बोलाएको बैठकमा सहभागी हुन नसकिएको पार्टीले जनाएको छ । परियारका अनुसार, “प्रतिनिधि सभा विघटनबारे हाम्रो धारणा पहिले नै स्पष्ट छ।”
रास्वपाले संसद पुनःस्थापनाको पक्षमा नजाने अडान पहिले नै सार्वजनिक गरिसकेको छ ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार रास्वपा अहिले आगामी चुनावको तयारीमा केन्द्रित छ । उनले भने, “२३ भदौको आन्दोलनमा भएको मानवीय क्षतिपछि तत्कालीन सचिवालय बैठकले नयाँ जनादेशमा जानुपर्ने निष्कर्ष निकालेको थियो, जुन पछि केन्द्रीय समितिबाट पनि अनुमोदन भएको छ।”
गत ७ असोजमा बसेको रास्वपाको केन्द्रीय समितिले आगामी २१ फागुनमा हुने सम्भावित चुनावका लागि घोषणा–पत्र (बाचा पत्र) तयार गर्न उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वमा समिति गठन गरेको थियो ।
प्रवक्ता झा भन्छन्, “हामी चुनावी तयारीमा जुटिसकेका छौं । बाचा पत्र लेखनको काम तीव्र रूपमा भइरहेको छ।”






