२२ भदौ, काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाको करिब १२ खर्ब ९२ अर्ब रुपैयाँ थुप्रिएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त तरलता निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र तथा स्थायी निक्षेप सुविधालगायतका उपकरणमार्फत खिच्दै आएको छ।
वित्तीय प्रणालीमा तरलताको अवस्था र अल्पकालीन ब्याजदरमा हुने अस्वाभाविक उतारचढाव व्यवस्थापन गर्न राष्ट्र बैंकले आवश्यकता अनुसार बजारबाट पैसा खिच्ने वा प्रणालीमा पठाउने गर्छ। यसरी तरलता व्यवस्थापनमार्फत केन्द्रीय बैंकले अन्तरबैंक ब्याजदरलाई नियन्त्रणमा राख्ने प्रयास गर्छ।
वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले सोमबार पनि ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ। पछिल्लो समय रेमिट्यान्स आप्रवाहमा भएको निरन्तर सुधारले वित्तीय प्रणालीमा तरलता बढाउन योगदान गरेको छ। त्यस्तै, अर्थतन्त्रमा देखिएको सुस्तताका कारण कर्जाको माग कमजोर रहँदा पनि बैंकिङ प्रणालीमा पर्याप्त तरलता थुप्रिएको हो।
राष्ट्र बैंकका अनुसार गत बुधबारसम्म वित्तीय प्रणालीमा करिब ५६ अर्ब रुपैयाँ बराबरको तरलता रहेको थियो। बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा र निक्षेप संकलनमार्फत राष्ट्र बैंकमा राखेको रकमको अवधि पूरा भएपछि उक्त रकम पुनः प्रणालीमा फर्किन सक्ने भएकाले तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले नयाँ निक्षेप संकलन उपकरण जारी गरेको हो।
निक्षेप संकलन उपकरणको बाँडफाँड गर्दा राष्ट्र बैंकले तुलनात्मक रूपमा कम ब्याजदर माग गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता दिने गर्छ। वित्तीय प्रणालीमा तरलता बढी हुँदा निक्षेप संकलन, स्थायी निक्षेप सुविधालगायतका उपकरण प्रयोग गरी राष्ट्र बैंकले बजारबाट पैसा खिच्छ।
त्यसको विपरीत, वित्तीय प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा केन्द्रीय बैंकले स्थायी तरलता सुविधा तथा रिपोमार्फत बजारमा पैसा पठाउने गर्छ।
राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दर लागू हुन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा अर्थात् स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज प्रदान गर्छ।
हाल बैंक दर ५.७५ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ।





