पोखरा, १६ भदौ
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) ले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर पोखराबाट ‘आयुर्वेद चौतारी’ अभियान सुरु गरेको छ। समाजमा आयुर्वेद, जडीबुटी र योगका विषयमा जनचेतना फैलाउनुका साथै ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियानको थालनी गरिएको हो।
अभियानअन्तर्गत पोखरा–११ स्थित शिवशक्ति विद्यालय नजिकैको चौतारीमा दैनिक भेला भएर भलाकुसारी गर्ने करिब २५ जना ज्येष्ठ नागरिकलाई पूर्वजानकारी नदिई अचानक पुगेको रानको टोलीले विभिन्न आयुर्वेदिक औषधि तथा स्वास्थ्य सामग्री निःशुल्क वितरण गरेको छ। कार्यक्रममा च्यावनप्रास, अश्वगन्धा, अमला, यष्ठिमधु, गुडुची, त्रिफला तथा विन जेललगायतका सामग्रीहरू प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता चौतारीमै भेला भएका ९० वर्षीय ज्येष्ठ नागरिक टुकप्रसाद पौडेलले गर्नुभएको थियो। रानले अभियानअन्तर्गत कार्यक्रमको अध्यक्षता त्यहीँ उपस्थित ज्येष्ठ नागरिकबाटै गराउने नयाँ परिपाटीको सुरुवात गरेको जनाएको छ।
सो अवसरमा रानका केन्द्रीय कार्यवाहक अध्यक्ष कृष्ण राउतले आयुर्वेदको मूल उद्देश्य रोग लाग्नै नदिई मानिसलाई निरोगी राख्नु रहेको बताउनुभयो। उहाँले च्यावन ऋषिको नामबाट ‘च्यावनप्रास’ नामकरण भएको स्मरण गराउँदै देशैभरका रान टोलीलाई समुदायस्तरमा पुगेर यो अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो।
कार्यक्रममा वरिष्ठ चिकित्सक डा. सुरेश पूर्वेले भान्सामा प्रयोग हुने रैथाने जडीबुटी तथा मसलाको स्वास्थ्यवर्द्धक महत्वबारे जानकारी गराउनुभएको थियो। रान गण्डकी प्रदेश सचिव नेत्रनयन भुजेल, कास्की जिल्ला अध्यक्ष डा. पूर्वे, आयुर्वेद स्वास्थ्यकर्मी समाज कास्कीका अध्यक्ष के.बी. थापा र फ्ल्यूर हिमालय कम्पनीका प्रतिनिधि शिव सिग्देललगायतले अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। भजन–कीर्तनसमेत गरिएको सो कार्यक्रममा ८० देखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो।





