विनाकारण भीआईपी पक्राउ जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

Shares

१२ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनाकारण विशिष्ट व्यक्तिहरू (भीआईपी) लाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत राखेको भए त्यसले सरकारकै लागि गम्भीर परिणाम निम्त्याउन सक्ने टिप्पणी गरे।

उनले यस्ता घटना दोहोरिन नदिन सरकारलाई आग्रह गर्दै भने, ‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ।’

विशिष्ट व्यक्तिलाई पक्राउ गर्नुको कारणका रूपमा प्रस्तुत गरिएको ‘सुरक्षा थ्रेट’ को दाबीप्रति पनि प्रचण्डले प्रश्न उठाए। सुरक्षा जोखिम वास्तविक भएको भए पक्राउ गर्नुभन्दा सम्बन्धित व्यक्तिको निवासमा सुरक्षाकर्मी थप गर्नुपर्ने उनको तर्क थियो।

‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने,’ उनले भने, ‘सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिनुपर्‍यो नि।’

यसै क्रममा प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा दिएको अभिव्यक्तिबारे पनि प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले अहिले बोल्नुपर्ने विषयकै सन्दर्भमा आफ्नो धारणा राखेको भन्दै उनले त्यसलाई स्वाभाविक भएको बताए।

यस विषयलाई अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको उल्लेख गर्दै प्रचण्डले प्रधानमन्त्री शाहको स्थानमा अरू व्यक्ति भएको भए पनि त्यस्तै धारणा राख्ने आफ्नो बुझाइ रहेको बताए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.