१६ मंसिर, काठमाडौं – पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले विरोध प्रदर्शन गर्न लागेको पृष्ठभूमिमा इस्लामाबाद र रावलपिण्डीमा धारा १४४ लागू गरिएको छ।
इमरान खानको ‘जेलमै मृत्यु’ भएको भन्ने हल्ला फैलिन थालेपछि देशमा अस्थिरता बढ्ने चिन्ताका बीच दुवै शहरका प्रशासनले यो निर्णय गरेका हुन्।
धारा १४४ लागू भएसँगै डिसेम्बर १ देखि ३ गतेसम्म कुनै पनि प्रकारको सभा, र्याली, प्रदर्शन, जुलुस वा ५ जनाभन्दा बढीको भेला पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ। साथै, हतियार, लाठी, गुलेली, पेट्रोल बम र अन्य विस्फोटक सामग्री बोक्न पनि रोक लगाइएको छ।
घृणास्पद अभिव्यक्ति दिनु, प्रहरीको ब्यारिकेड हटाउने प्रयास गर्नु, दुई जना एकै मोटरसाइकलमा पछाडि बस्नु तथा लाउडस्पीकर प्रयोग गर्नेजस्ता गतिविधि पनि निषेधित गरिएको आदेशमा उल्लेख छ।
सरकारी आदेशअनुसार जिल्ला गुप्तचर समितिले केही समूह र व्यक्तिहरूले ठूलो भीड जम्मा गरेर संवेदनशील स्थान, सरकारी भवन तथा अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएको थियो। त्यसैले सुरक्षा व्यवस्था कायम राख्न कडा प्रतिबन्ध लगाइएको बताइयो।
यसबीच, पीटीआई नेता असद कायसरले संसदका विपक्षी सांसदहरूले इस्लामाबाद उच्च अदालत बाहिर विरोध प्रदर्शन गर्ने र त्यसपछि धर्नालाई अदियाला जेलतर्फ लैजाने योजना बनाएको बताए। उनले अदालत र जेल प्रशासनले आदेश कार्यान्वयन गर्न असफल भएको आरोप पनि लगाए।
गत हप्ता खैबर पख्तुनख्वाका मुख्यमन्त्रीलाई इमरान खानलाई भेट्न नदिएपछि उनले जेल बाहिर धर्ना दिएका थिए। परिवारका सदस्यहरूलाई पनि धेरै हप्तादेखि भेट्न नदिइएको परिवारले बताउँदै आएको छ।
यसअघि, पाकिस्तानका न्याय राज्यमन्त्री अकील मलिकले खैबर पख्तुनख्वाको कानून-व्यवस्था कमजोर बन्दै गएको भन्दै त्यहाँ राष्ट्रपति शासन लागू गर्ने विषयमा सरकार गम्भीर रूपमा विचार गरिरहेको जानकारी दिएका थिए। उनका अनुसार मुख्यमन्त्री सोहेल अफ्रिदी प्रशासनिक समन्वय र आवश्यक कारबाही दुबैमा असफल भएका छन्।
मुख्यमन्त्रीमाथि प्रहरीको कुटपिट
इमरान खानको समर्थनमा अदियाला जेल पुगेका केपीका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई नोभेम्बर २७ मा प्रहरीले सडकमा कुटपिट गरेको थियो। मिडिया रिपोर्टअनुसार यो कारबाही सेनाको आदेशमा गरिएको बताइएको छ।
अफ्रिदी जेल पुगेका बेला भारी सुरक्षा बल तैनाथ थियो र पीटीआई समर्थकहरूको भीड बढ्दै थियो। प्रहरीले उनी र उनीसँगका नेताहरूलाई अघि बढ्न रोकेपछि परिस्थिती तनाबग्रस्त भएको थियो। धकेला–धकेलकै बीच प्रहरीले मुख्यमन्त्रीलाई लात्ती–मुक्का प्रहार गर्दै ढालिदिएको पीटीआईले आरोप लगाएको छ। पार्टीले यसलाई लोकतान्त्रिक अधिकारमाथिको गम्भीर हमला भनेर टिप्पणी गरेको छ।






