१ मंसिर, काठमाडौं – मक्काबाट मदिनातर्फ जाँदै गरेको बस दुर्घटनामा ४२ भारतीय यात्रुहरूको मृत्यु भएको छ।
साउदी अरबमा सोमबार मक्काबाट मदिनातर्फ यात्रा गर्दै गरेको बस हैदराबादका तीर्थयात्रीहरूलाई लिएर गएको थियो। मृत्यु हुनेमा २० महिला र ११ बालबालिका समेत छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किँदा आगो लागेको थियो। प्रारम्भिक रिपोर्ट अनुसार मृतक सबै भारतीय नागरिक हुन्। तीमध्ये धेरैजसो हैदराबादबाट तीर्थयात्रा गर्न गइरहेका थिए।
दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिकै राति करिब १:३० बजे भएको थियो। सो समयमा अधिकांश यात्रु सुतिरहेका थिए, जसका कारण ठोक्किएपछि बसमा आगो लाग्दा मानवीय क्षति बढेको छ।
तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई दूतावाससँग समन्वय गरी पीडितहरूको पहिचान र अन्य औपचारिकतामा सहयोग गर्न निर्देशन दिएका छन्।






