बुटवल, ७ फागुन ।
बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले शैक्षिक उत्कृष्टता हासिल गर्ने आफ्ना विद्यार्थीहरूलाई भव्य रूपमा पुरस्कृत र सम्मानित गरेको छ। कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै विद्यालयले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार र छात्रवृत्ति प्रदान गरेको हो।
विद्यालयका प्राध्यापक सुमन भुसालका अनुसार यस पटक ३.६० भन्दा माथि जिपिए (GPA) ल्याउने कुल २२ जना विद्यार्थी पुरस्कृत भएका छन्। जसमा ३.८० जिपिए भन्दा माथि ल्याउने ९ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद र तीन महिनाको शतप्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ।
त्यसैगरी, ३.६० जिपिए भन्दा माथि ल्याउने १३ जना विद्यार्थीलाई जनही ३ हजार रुपैयाँ नगद र तीन महिनाको शिक्षण शुल्कमा शतप्रतिशत छुटसहित सम्मान गरिएको छ। परीक्षामा कक्षा १२ की सुधा चौधरीले ३.९६ जिपिए प्राप्त गरी सर्वोत्कृष्ट स्थान हासिल गरेकी छिन्।
पुरस्कार वितरण समारोहकै अवसरमा विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो। नेपाल नियमित रक्तदाता संघ रुपन्देही र रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ।
कार्यक्रममा बोल्दै संयोजकहरू बालकृष्ण पोखरेल, नारायण सापकोटा र भरत क्षेत्रीले यस्ता प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना र पढाइप्रति थप रुचि जगाउने विश्वास व्यक्त गरे। सो अवसरमा शतप्रतिशत अभिभावक उपस्थित गराउन सफल हुने प्राध्यापकहरूलाई पनि विद्यालयले विशेष सम्मान गरेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अक्सफोर्ड क्याम्पसका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी लगायतले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो।





