अख्तियार प्रमुख र आयुक्तहरूलाई राजीनामा माग गर्दै जेनजी मुभमेन्टको ज्ञापनपत्र

Shares

२१ असोज, काठमाडौं – जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गरेको छ। समूहले मंगलबार टंगालस्थित आयोगको केन्द्रीय कार्यालयमा भौतिक रूपमा पुगेर औपचारिक पत्र दर्ता गराएको हो।

यसअघि सोमबार समूहले प्रमुख आयुक्त राईलाई इमेलमार्फत राजीनामा दिन आग्रह गरेको थियो। तर आज उनीहरूले आयोगमै पुगेर लिखित रूपमा पत्र बुझाएका हुन्।

समूहका अगुवा रिजन राना (आदित्य)ले भने, “हामीले आज भौतिक उपस्थितिमा पत्र बुझाएका छौं। अब पनि राजीनामा नआए थप संघर्षका कार्यक्रमबारे सल्लाह भइरहेको छ।”

नियुक्ति प्रक्रियामाथि प्रश्न, निष्पक्षता गुमाएको आरोप

अलायन्सले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अख्तियारका प्रमुख र आयुक्तहरूको नियुक्ति संसदीय सुनुवाइबिना गरिएको भन्दै त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको आरोप लगाएको छ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रमुख आयुक्तमाथि विशेष अदालतको निर्णयमा स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजनको टिप्पणी आएको छ, जसले उहाँको भूमिकामाथि गम्भीर शंका उठाएको छ।”

ठूला प्रकरणमा जोडिएको नाम, नैतिक जिम्मेवारीको माग

जेनजी मुभमेन्ट अलायन्सले नेपाल आयल निगमको जग्गा खरिद, नक्कली भुटानी शरणार्थी प्रकरण, वाइडबडी विमान खरिदजस्ता विषयमा पनि प्रमुख आयुक्तको नाम जोडिँदै आएको दाबी गर्दै नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने माग गरेको छ।

हाल संघीय संसद् नचलेको अवस्थामा महाअभियोग प्रक्रियामार्फत पदमुक्त गर्न सम्भव नभएकाले राजीनामामार्फतै आयोगको गरिमा पुनःस्थापना गर्नुपर्ने समूहको धारणा छ।

अलायन्समा हाल १२ वटा जेनजी समूह आबद्ध छन्, जसले ३९ जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.