आचरणमाथि प्रश्न उठाइएपछि सभामुख अर्यालले ध्यानाकर्षण भएको बताए

Shares

३ असार, काठमाडौं । संसद्मा आफ्नो आचरणमाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विवादित अभिव्यक्तिउपर रुलिङ नगरेको भनेर सभामुख अर्यालमाथि नै प्रश्न उठाएका थिए ।

उनले भनेका थिए, ‘स्वयम सभामुख महोदयसँग एउटा प्रश्न छ । सभामुख महोदय, हाम्रो गरिमामय जो सामुन्ने कुर्सीमा बस्नु भन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको रास्वपा पार्टी थियो यहाँको त्यो सँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?’ यो विषयमा लगत्तै सभामा नियमापत्ति भयो । रास्वपाका सांसद गणेश कार्कीले प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘ख’ मा सभामुखले पद अनुकुलको आचरण गरेको छैन भन्ने प्रस्तावमा बाहेक सभामुखको आलोचना गर्न नपाइने प्रावधान राखेको स्मरण गराए । त्यसपछि सभामुख अर्यालले यो विषयमा ध्यानाकर्षण भएको बताएका हुन् ।

सभामुखले भनेका छन्, ‘आजै माननीय सदस्य चन्द्रमोहन यादवले बोल्ने क्रममा बोलिएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ । माननीय सदस्यलाई हाम्रो नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँदछु ।’ प्रतिनिधिसभा नियमावलीको नियम २१ मा सभाको छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियम छ । जसको (ख) मा भनिएको छ, ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने ।’

साथै, अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न नपाइने नियम छ । कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने पनि भनिएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.