बुटवल, । रुपन्देहीको बुटवलमा सञ्चालित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट जिपिए (GPA) ल्याउने विद्यार्थीहरूलाई भव्यताका साथ सम्मान तथा पुरस्कृत गरेको छ।
विद्यालयले प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार र तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए।

प्राचार्य भुसालका अनुसार यसपटक कक्षा ११ र १२ का परीक्षार्थीमध्ये ३.८० जिपिए (GPA) भन्दा माथि ल्याउने ११ जनाविद्यार्थीलाई नगद रु. १० हजार र ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट दिएको छ भने ३.६० जिपिए (GPA) भन्दा माथि ल्याउने २०जना विद्यार्थीलाई नगद रु. ३ हजार र ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट सहित सम्मान तथा पुरस्कृत गरिएको हो। कुल ३१ जना विद्यार्थीहरूलाई उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै प्राध्यापक सुमन भुसालले विद्यालयले गरेको यो सम्मानले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना जाग्नुका साथै पढ्नुपर्छ भन्ने उत्प्रेरणा जगाउने भएकाले यो कार्य महत्वपूर्ण रहेको बताए।
केही वर्षयता विद्यालयमा सिर्जनात्मक गतिविधिहरू बढेका कारण विद्यार्थीको चाप ह्वात्तै बढेको र यसको फलस्वरुप नतिजा पनि नेपालभर उत्कृष्ट हुन सफल भएको स्मरण गर्दै प्राध्यापक भुसालले यो सफलताको श्रेय अभिभावक, प्राध्यापक तथा कर्मचारीहरूलाई दिए।
परीक्षाफलमा कक्षा ११ बाट ४ जिपिए (GPA) ल्याइ श्रीषा न्याैपानेले उत्कृष्ट स्थान हासिल गरेकी छन्। ३.६० भन्दा माथि जिपिए ल्याउने ३१ जना विद्यार्थी र उनीहरूका अभिभावकलाई माला, खादा तथा नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रममा शतप्रतिशत अभिभावक उपस्थित गराउने प्राध्यापकहरूलाई पनि विद्यालयले विशेष सम्मान गरेको थियो।
सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारी, अक्सफोर्ड क्याम्पसका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल लगायतको उपस्थिति रहेको थियो।







