पाल्पा/चिदीपानी: पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी स्थित बाहाखोक–अर्पिडाडा दोहोरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूहको दोस्रो वार्षिक साधारणसभाले यस क्षेत्रका बासिन्दामा सुरक्षित खानेपानीको पहुँच विस्तार हुने उत्साह जगाएको छ।
शनिबार एक विशेष समारोहका बीच सम्पन्न भएको साधारणसभामा बोल्दै माथागढी गाउँपालिका–१, चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीले चालु आर्थिक वर्ष २०८२/०८३ भित्र ‘एक घर, एक धारा’ अभियान अन्तर्गत चिदीपानीका करिब ९० प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख अतिथि पन्थीले खानेपानीसँगै शिक्षा, स्वास्थ्य, मोटरबाटो, सिंचाइ, कृषि र पशुपालनलाई समेत वडाले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको जानकारी दिनुभयो। “हामी जनताको मुहारमा खुशी ल्याउन चुनीएका जनप्रतिनिधि हौं। राम्रो गर्ने प्रयास सधैं रहन्छ, तर गलत कहिल्यै गर्दैनौं,” उहाँले भन्नुभयो। उहाँले आगामी केही वर्षभित्र जनताले प्रत्यक्ष रूपमा विकासको अनुभूति गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्दै समुदायको सकारात्मक सहभागितामा ।

साधारणसभाको अध्यक्षता गर्नुभएका समूहका अध्यक्ष खेमान सिंह थापा (सारु) ले लिफ्ट प्रणाली र परम्परागत स्रोतको उचित व्यवस्थापनका कारण अहिले खानेपानीको सुविधा विस्तार हुँदै गएको बताउनुभयो। विगतमा खोलाबाट पानी बोक्नुपर्ने बाध्यता सम्झँदै उहाँले निर्माणाधीन खानेपानी आयोजना केही महिनाभित्रै सम्पन्न भई सञ्चालनमा आएपछि यो क्षेत्रका बासिन्दाले **‘पानीको बरदान’**को अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आयोजनाको सफलताका लागि सहयोग गर्ने जनप्रतिनिधि तथा सम्बन्धित निकायहरूलाई धन्यवाद
साधारणसभामा अध्यक्ष थापाले वार्षिक प्रतिवेदन र आगामी वर्षका योजनाहरू प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष जमुना थापाले लेखा परीक्षण प्रतिवेदन पेस गर्नुभएको थियो। करिब १५० जना उपभोक्ताको उपस्थितिमा सम्पन्न भेलाको स्वागत मुरारी बस्यालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव शेरबहादुर बिकले गर्नुभएको थियो।
कार्यक्रममा वडा सदस्य लिला कुमारी बिक, ज्ञानोदय आधारभूत विद्यालयका प्रधानाध्यापक विजयदीप पन्थी, माथागढी बहुउद्देश्यीय सहकारीका अध्यक्ष भवनसिंह गाहा, पत्रकार जगन्नाथ काफ्ले, कालोखोला–स्यारखोक सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष निर्मला राना, समाजसेवी टिकाराम बस्याल, र उजेला बिक लगायतको विशेष आतिथ्यता रहेको थियो।






