काठमाडौं, ९ असार — कतारको रस लाफान औद्योगिक क्षेत्रमा रहेको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विस्फोटमा नेपाली नागरिकसहित विभिन्न देशका कामदार घाइते भएका छन्। घटनामा १२ भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि गरिएको छ भने ६६ भन्दा बढी व्यक्ति घाइते भएका छन्।
घाइतेमध्ये नेपाल, कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिक रहेका छन्। यद्यपि, कतारी अधिकारीहरूले हालसम्म घाइतेहरूको नामावली सार्वजनिक गरेका छैनन्। सबै घाइतेको उपचार जारी रहेको बताइएको छ।
सोमबार कतारका ऊर्जा मन्त्री साद अल–काबीले घटनाबारे जानकारी दिँदै यसलाई आक्रमण नभई दुर्घटना भएको स्पष्ट पारे। उनले तोडफोड वा कुनै शत्रुतापूर्ण गतिविधिको संकेत नदेखिएको बताएका छन्।
दोहास्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत १२ भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै सबै घाइतेको अवस्था स्थिर रहेको र उनीहरूले आवश्यक उपचार पाइरहेको जनाएको छ।
घटनापछि सुरुवाती चरणमा आक्रमणको आशंका गरिएको भए पनि कतार सरकारले त्यसलाई अस्वीकार गरेको छ। विगतमा पश्चिम एसियामा तनावका क्रममा इरानले खाडी क्षेत्रका ऊर्जा संरचनालाई लक्षित गरी आक्रमण गर्दा रस लाफान क्षेत्रमा समेत क्षति पुगेको थियो।
प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटपछि ठूलो आगोको ज्वाला र बाक्लो धुवाँ देखिएको थियो। विस्फोटको आवाज राजधानी दोहासम्म, करिब ६४ किलोमिटर टाढासम्म सुनिएको बताइएको छ। आगलागी आइतबार रातिनै नियन्त्रणमा लिइएको थियो।
ऊर्जा मन्त्री अल–काबीका अनुसार उक्त घटनाले कतारको ग्यास निर्यात तथा आन्तरिक आपूर्तिमा कुनै असर नपार्नेछ। साथै, वातावरणमा पनि कुनै उल्लेखनीय नकारात्मक प्रभाव नपरेको उनले बताएका छन्।





