१२ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई स्पष्ट कारण र कानुनी आधार नखुलाई नियन्त्रणमा लिएर पछि छाडिएको विषयमा सोमबार प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले प्रश्न उठाएका छन्। तर, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भने संसद्को आकस्मिक समयमा यस विषयमा कुनै धारणा राखेनन्।
रास्वपा सांसदहरूले आकस्मिक समयमा बाढी–पहिरोबाट भएको क्षति, जनजीवनमा परेको असर तथा आवश्यक सतर्कताका विषय उठाएका थिए। जबरालाई नियन्त्रणमा लिएको घटनाबारे भने उनीहरू संसद्मा मौन रहे।
पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले शनिबार राति उनको निवासबाट नियन्त्रणमा लिएको थियो। तर, उनलाई कुन कसुरमा र कुन कानुनी आधारमा नियन्त्रणमा लिइएको हो भन्नेबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन। सम्बन्धित सरकारी निकायले पनि यस विषयमा औपचारिक रूपमा विस्तृत धारणा सार्वजनिक गरेका छैनन्।
जबरालाई राति नियन्त्रणमा लिएर आइतबार दिनभरजसो प्रहरी कार्यालयमा राखिएको थियो। पछि उनलाई आफन्तको जिम्मा लगाइएको थियो। प्रहरीले उनलाई ‘सुरक्षा थ्रेट’ देखिएको भन्दै सुरक्षित स्थानमा राखिएको बताएको थियो।
यस विषयमा रास्वपाका केही सांसदहरूले भने सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
रास्वपा सांसद रञ्जु दर्शनाले कानुनले कसुर देखिए पक्राउ गर्न सकिने व्यवस्था गरे पनि पक्राउ गर्दा कानुनी प्रक्रिया र प्रमाणको आधार पालना गर्नुपर्ने बताएकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ। तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ।’ उनका अनुसार आरोप मात्र पर्याप्त नभई कसुर पुष्टि गर्ने आधार र प्रमाण आवश्यक हुन्छ।
दर्शनाले कानुनको शासनको मूल मर्म अधिकार प्रयोग गर्दा विधि, प्रक्रिया र प्रमाणको पालना गर्नु रहेको उल्लेख गर्दै ‘अधिकार प्रयोग गर्न पाइन्छ, तर विधि र प्रमाणबिना होइन’ भनेकी छन्।
त्यस्तै, रास्वपाका अर्का सांसद राजीव खत्रीले पनि जबरालाई नियन्त्रणमा लिएको घटनाबारे प्रश्न उठाएका छन्। प्रहरीले ‘सुरक्षा थ्रेट’ का कारण नियन्त्रणमा लिएको बताए पनि पछि उनलाई किन र कसरी छाडियो भन्ने स्पष्ट नभएको उनको भनाइ छ।
खत्रीले सामाजिक सञ्जालमार्फत राज्यले कुनै नागरिकलाई सुरक्षा खतरा भए सुरक्षा प्रदान गर्नुपर्ने भए पनि प्रहरीले घरबाट नियन्त्रणमा लिँदा अपनाएको शैली उचित नभएको टिप्पणी गरेका छन्।
उनले विगतमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरिएको शैलीको समेत स्मरण गर्दै गलत काम गर्ने जोसुकैलाई कानुनी कारबाही गर्न सकिने भए पनि त्यसका लागि विधि र प्रक्रिया पालना गर्नुपर्ने बताएका छन्।
जबराका विगतका कामबारे प्रश्न उठाउन सकिने उल्लेख गर्दै खत्रीले कानुनी प्रक्रिया पूरा नगरी मध्यरातमा पक्राउ गर्नु उचित नभएको धारणा राखेका छन्।
जबरालाई नियन्त्रणमा लिएको घटनामा मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न नदिएको जनाइएको छ। आयोगले यस विषयमा विज्ञप्तिमार्फत प्रहरीको कार्यशैलीप्रति प्रश्न उठाएको थियो।
घटनाबारे प्रहरीको तर्फबाट ‘सुरक्षा थ्रेट’ लाई कारणका रूपमा प्रस्तुत गरिए पनि जबरालाई नियन्त्रणमा लिनुको कानुनी आधार, प्रक्रिया तथा पछि रिहा गर्नुको स्पष्ट कारणबारे भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।





