ट्रम्पको पहलमा इजरायल–हमास युद्धविराम, २० बन्दी रिहा हुने

Shares

२३ असोज, काठमाडौं — इजरायल र हमासबीच युद्धविरामको सहमति भएको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुबै पक्ष सहमत भएका हुन्। सम्झौताअनुसार गाजामा जारी युद्ध रोकिनेछ र कैदीहरूलाई रिहा गरिनेछ।

बीबीसीका अनुसार, इजरायल र हमासबीचको औपचारिक सम्झौतामा बिहीबार इजिप्टमा हस्ताक्षर हुनेछ। सम्झौताअनुसार, प्रारम्भिक चरणमै हमासले २० जना इजरायलीलाई जीवितै रिहा गर्नेछ। साथै, गाजामा मानवीय सहायता पुर्‍याउन पाँचवटा नाका तुरुन्त खोलिनेछ।

एसोसिएटेड प्रेस (एपी) का अनुसार, इजरायली सेना गाजाका धेरै भागबाट पछि हट्न थालेको छ। हमासले यसै साताभित्र सबै २० जना बन्दीहरूलाई मुक्त गर्ने वाचा गरेको छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्,

“यस सम्झौताले सबै बन्दीहरूको छिटो रिहाइ सुनिश्चित गर्नेछ, र इजरायलले आफ्ना सेना सीमित क्षेत्रमा फिर्ता बोलाउनेछ। यो स्थायी शान्तितर्फको पहिलो ठोस कदम हो।”

अमेरिका, इजिप्ट, कतार र टर्की ले सम्झौताको ग्यारेन्टी दिएका छन्। जबसम्म दुवै पक्षले शर्त पालना गर्छन्, तबसम्म पुनः हिंसा नहुने विश्वास गरिएको छ।

नेतन्याहूको प्रतिक्रियाः “इजरायलका लागि विशेष दिन”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन्। दुबै नेताले बन्दीहरू रिहा हुने सहमति ऐतिहासिक उपलब्धि भएको भन्दै एकअर्कालाई बधाई दिएका छन्। नेतन्याहूले ट्रम्पलाई इजरायली संसद (केनेसट) मा सम्बोधन गर्न आमन्त्रण समेत गरेका छन्।

सम्झौताको प्रारम्भिक चरणबारे इजरायली अधिकारी, हमास र मध्यस्थ कतारले आधिकारिक रूपमा पुष्टि गरिसकेका छन्। यद्यपि, गाजाको शासन वा हमासको निरस्त्रीकरणजस्ता विवादास्पद विषयमा भने अझै सहमति जुटेको छैन।

यी बाँकी मुद्दाहरू आगामी दिनमा इजिप्टमा हुने वार्तामा टुंगो लगाइनेछ।

कतारको प्रमुख भूमिका

सम्झौता हासिल गर्न कतारले पनि महत्वपूर्ण भूमिका खेलेको छ। शर्म-अल-शेखमा सोमबारदेखि सुरु भएको वार्तामा अमेरिका, इजिप्ट, इजरायल र कतारका उच्च प्रतिनिधिहरू सहभागी थिए। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी स्वयं वार्तामा सहभागी भएका थिए।

युद्धको पृष्ठभूमि र नेपाली पीडित

७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीसहित करिब १२०० जनाको मृत्यु भएको थियो। हमासले नेपालका विपिन जोशीलाई पनि अपहरण गरेको थियो, जसको अवस्थाबारे अझै पुष्टि भइसकेको छैन।

हिजो मात्रै विपिनको पुरानो भिडियो सार्वजनिक भएको छ। युद्धविरामको सहमतिले उनको अवस्था पत्ता लगाउने आशा गरिएको छ।

इजरायलको प्रतिआक्रमणमा गाजा क्षेत्रमा व्यापक क्षति भएको छ र हजारौंको ज्यान गएको छ। गाजाको धेरै भाग ध्वस्त भएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.