१३ भदौ, तनहुँ – आलु प्रवर्द्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ। आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत करिब १,००० रोपनी क्षेत्रफलमा खेती गरिएको थियो।
कृषक समूह र सहकारीको सहकार्यमा विभिन्न क्लष्टरहरूमा आलुखेती गरिएको जानकारी दिँदै कृषि ज्ञान केन्द्र तनहुँका कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले भने, “एउटा क्लष्टरमा न्यूनतम ३० रोपनी क्षेत्रफलमा आलु खेती गरिएको हो।”
कार्यक्रमका लागि कुल रु ९३ लाख ३० हजारको बजेट विनियोजन गरिएको छ। प्रत्येक कृषक समूहलाई ८० क्विन्टल आलुको बीउ वितरण गरिएको थियो।
लामिछानेका अनुसार किसानहरूलाई जनकदेव, एमएस र काडिनल जातका आलुका बीउ ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो। साथै, उत्पादनमा सहजीकरण गर्न आवश्यक कृषि उपकरणहरू पनि किसानहरूलाई वितरण गरिएको थियो।
Post Views: 408






