२२ असोज, काठमाडौं । ओमानमा आजदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक (EAP) क्षेत्रीय छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा कुवेतको सामना गर्नेछ।
यो खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मैदानमा नेपाली समयअनुसार बेलुका ८:४५ बजे सुरु हुनेछ।
यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र कुवेत तीन पटक आमनेसामने भएका छन्, जसमा नेपालले दुई खेल जितेको छ भने कुवेतले एक खेल जितेको छ। पछिल्लो पटक यी दुई टोली अप्रिलमा हङकङमा आयोजित चारदेशीय शृंखलामा भिडेका थिए। त्यतिबेला लिग चरणमा नेपाल विजयी भए पनि फाइनलमा कुवेतले नेपाललाई हराएको थियो।
आजको खेल जित्ने टोलीलाई सुपर सिक्स चरणमा पुग्ने सम्भावना उच्च हुने भएकाले दुवै टोलीका लागि खेल महत्वपूर्ण हुनेछ। यद्यपि कुवेतले नेपाललाई हराइसकेको पृष्ठभूमिमा उनीहरूलाई कमजोर आँक्न मिल्दैन।
यस क्षेत्रीय छनोटमा नौ टोली सहभागी छन्, जसबाट शीर्ष तीन टोलीले २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन्। यसपटकको छनोट प्रक्रिया नयाँ ढाँचामा भइरहेको छ, जसमा एसिया क्षेत्रसँगै इस्ट एसिया पेसिफिक (EAP) क्षेत्रका टोलीहरू पनि समावेश छन्।
नेपालको टोली यस प्रकार छ:
रोहित कुमार पौडेल (कप्तान)
दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
कुशल भुर्तेल
लोकेस बम
कुशल मल्ल
आसिफ सेख
आदील आलम
करण केसी
नन्दन यादव
सन्दीप लामिछाने
सन्दीप जोरा
आरिफ सेख
ललित नारायण राजवंशी
गुलशन झा
सोमपाल कामी






