२२ असोज, काठमाडौँ — कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीको संयमित र अनुभवी ब्याटिङको बलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्ध चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा ६ विकेटको जित हासिल गरेको छ। यस जितसँगै पाँच खेलको शृंखला २–२ को बराबरीमा पुगेको छ।
क्वालालम्पुरस्थित वायुमास ओभलमा मलेसियाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १११ रन बनाएको थियो। जवाफी इनिङमा नेपालले १७.३ ओभरमा ११५ रन बनाउँदै लक्ष्य पूरा गर्यो।
जितका लागि आवश्यक अन्तिम रन इन्दु बर्माले चौका प्रहार गर्दै दिलाइन्। उनी ३९ बलमा ४८ रनमा अविजित रहिन् भने रुबिना क्षेत्रीले २३ बलमा २३ रन बनाएर साथ दिइन्। यी दुईले पाँचौं विकेटका लागि ५५ बलमा ६१ रनको अविजित साझेदारी गरे। इन्दुले ६ चौका प्रहार गरिन् भने रुबिनाको ब्याटबाट २ चौका र १ छक्का निस्कियो।
ओपनर कविता कुँवरले १६ रन, सम्झना खड्काले ११, रुवि पोदारले ५ तथा पूजा महतोले ७ रन बनाएकी थिइन्। पूजालाई एइना हासिमले सिधा थ्रोमार्फत रनआउट गरेकी थिइन्।
यसअघि मलेसियाले सुरुवातमै झट्का खेप्यो। नेपालले दुवै ओपनर – एइना हमिजाह हासिम र वान जुलियालाई खाता खोल्न नदिई आउट गर्यो। पछिल्ला तीन खेलमध्ये दुईमा अर्धशतक बनाइसकेकी हासिमलाई कविता कुँवरले क्याच एन्ड बोल्ड गरिन्, जबकि जुलिया पूजा महतोको बलमा बोल्ड भइन्।
मलेसियाका लागि मास इलिसा मात्र जमिन — उनले ६३ बलमा अविजित ५६ रन बनाइन्। माहिराहले १८ र नुर डानियाले १५ रनको योगदान दिए।
नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेकी कविता कुँवरले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिँदै ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। पूजा महतो र कविता जोशीले १–१ विकेट लिए।
अब पाँच खेलको यो शृंखलाको अन्तिम तथा निर्णायक खेल बुधबार (भोलि) खेलिनेछ।






