काठमाडौं — निजामती कर्मचारीका ६ वटा ट्रेड युनियनहरूले सार्वजनिक प्रशासन रुपान्तरणको नाममा कुनै व्यक्ति वा पद विशेषको बर्खास्ती वा राजीनामा माग्ने र निजामती प्रशासनलाई अस्थिर बनाउने प्रवृत्ति तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरूले मुख्य सचिव एकनारायण अर्याललाई बुझाएको ज्ञापनपत्रमा कानुन बमोजिम सञ्चालनमा रहेका संघ संगठनहरूप्रति नकारात्मक टिप्पणी र विघटनका माग स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
अन्तरिम सरकार गठनसँगै केही कर्मचारीहरूले जेनजी निजामती भेला गरी मुख्य सचिव, सचिव, सर्वोच्च अदालतका रजिष्ट्रार र संसदका महासचिवको राजीनामा मागेका थिए भने ट्रेड युनियनहरू विघटनको माग पनि गर्दै आएका थिए।
यसप्रति निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल, कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवाल, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बदत्त भट्ट लगायत ६ वटा संगठनले संयुक्त प्रेस वक्तव्य जारी गरी यस्ता गतिविधि र अभिव्यक्तिको कडा विरोध जनाएका छन्।







