बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) समर्थित विद्यार्थी संगठन अखिल (समाजवादी) बुटवल बहुमुखी क्याम्पस इकाइको आयोजनामा प्राथमिक उपचार सम्बन्धी आधारभूत स्वास्थ्य तालिम सम्पन्न भएको छ। ‘म स्वस्थ, क्याम्पस स्वस्थ र देश स्वस्थ’ भन्ने मुख्य नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति थियो।
संगठनका इकाइ संयोजक बिस्नु लम्सालको अध्यक्षतामा सम्पन्न उक्त तालिम कार्यक्रममा नेकपा माओवादी (माओवादी) रुपन्देही जिल्ला सचिव बिरेन्द्र सी प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा बोल्दै संगठनका लुम्बिनी प्रदेश सह-इन्चार्ज तथा विद्यार्थी नेता बिस्नु बहादुर राउत (विज्ञान)ले जेनजी विद्रोहपछि अन्य विद्यार्थी संगठनहरूले कलेजमा प्रभावकारी कार्यक्रम गर्न नसकिरहेको अवस्थामा अखिल (समाजवादी) ले ‘आत्मनिर्भर अर्थतन्त्र’ को नयाँ बहससहित स्वास्थ्य शिविर जस्ता अतिरिक्त र रचनात्मक कार्यक्रम लिएर अगाडि बढेको बताउनुभयो।
उहाँले हरेक क्याम्पसमा प्राविधिक ज्ञान प्राप्तिको निम्ति पहल गर्ने र शिक्षालाई सीपसँग जोड्ने गरी विद्यार्थीहरूमा रचनात्मक कार्यक्रम लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
जनपत्रकार संगठनका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले विद्यार्थीहरूलाई प्राविधिक र रचनात्मक कार्यक्रमका लागि आफूले कलम चलाएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रमुख अतिथि बिरेन्द्र सीले कृषि उत्पादन र शिक्षालाई व्यवहारसँग जोड्ने विषयमा कार्यक्रम तय गरेको भन्दै अखिल (समाजवादी) टिमलाई धन्यवाद दिँदै प्राविधिक कार्यक्रममा पार्टीको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
निमत्त क्याम्पस प्रमुख डा. दुर्गा भुसालले हरेक विद्यार्थी संगठनले व्यावहारिक तथा प्राविधिक शिक्षा तालिमको निम्ति निरन्तर अगाडि बढेर विद्यार्थीको सेवामा जुट्न आग्रह गर्दै यस संगठनले गरेको कार्यक्रम प्रेरणायुक्त भएको सन्देश दिनुभयो।
तालिम कार्यक्रममा महिला तथा स्त्री रोग विशेषज्ञ डा. नवीन तिरुवाले महिनावारीको समयमा स्त्रीमा देखिने समस्या र समाधानका उपायहरू प्रष्ट पार्नुभयो।
यसैगरी, जनस्वास्थ्य अधिकृत अर्बिन्द चन्दले करिब ३०० विद्यार्थीहरूको बीचमा नै प्रयोगात्मक रूपमा प्राथमिक उपचारबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले सामान्य स्वास्थ्यकर्मीको सहयोगमा विद्यार्थीहरूलाई व्यावहारिक रूपमा रक्तचाप सम्बन्धी महत्वपूर्ण तालिम पनि गराउनुभएको थियो।
कार्यक्रमको अन्तमा संगठनका इकाइ संयोजक बिस्नु लम्सालले निरन्तर रचनात्मक कार्यक्रम गर्ने प्रतिबद्धतासहित कार्यक्रम समापन गर्नुभयो।






