बुटवल बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको अभिमुखीकरण सम्पन्न; नेपाल प्रथम हुने पौडेल सम्मानित

Shares

बुटवल, २५ माघ ।

बुटवल बहुमुखी क्याम्पसको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह (MA) प्रथम सेमेस्टरमा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि आयोजित एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई सेमेस्टर प्रणाली, शिक्षण विधि र क्याम्पसको शैक्षिक वातावरणबारे विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा, यसै क्याम्पसबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल प्रथम हुन सफल विद्यार्थी कमल पौडेललाई क्याम्पस प्रशासनको तर्फबाट सम्मान गरिएको थियो। पौडेलको सफलताले क्याम्पसको गरिमा बढाएको र नयाँ विद्यार्थीहरूका लागि ठुलो प्रेरणा मिलेको कार्यक्रममा चर्चा गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा. अरूणकुमार क्षेत्रीले सेमेस्टर प्रणालीमा विद्यार्थीको नियमित उपस्थिति र सक्रियता अपरिहार्य रहेको बताउनुभयो। उहाँले”स्नातकोत्तर तहको पढाइ केवल परीक्षा उत्तीर्ण गर्नका लागि मात्र नभई अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिदै विद्यार्थीहरूले अनुसन्धानको मूल्य-मान्यताभित्र रहेर आफ्नो प्राज्ञिक यात्रा अगाडि बढाउनुपर्ने बताउनुभयो।

स्नातकोत्तर कार्यक्रमका संयोजक डा. तिलक भुसालले नयाँ विद्यार्थीहरूलाई सेमेस्टर प्रणालीको आन्तरिक र बाह्य मूल्याङ्कन, ग्रेडिङ पद्धति, उपस्थितिको अनिवार्य शर्त र नियमहरूका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो। नेपाल प्रथम भएका कमल पौडेलले पनि आफ्नो अनुभव सुनाउँदै स्नातकोत्तरको अध्ययनमा विद्यार्थीको व्यक्तिगत मिहिनेत र सक्रियता नै सफलताको मुख्य कडी भएको उल्लेख गर्नुभयो।

समाजशास्त्र विभागका प्रमुख जीवनारायण अधिकारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा नेपाली विषयका विभागीय प्रमुख डा. शखिशरण  सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विभागीय प्रमुखहरू डा. सञ्जयकुमार कर्ण, अनुसन्धान व्यवस्थापन केन्द्रका संयोजक डा. शालिग्राम पौड्याल, त्रि.वि. प्राध्यापक संघका उप-सभापति प्रेम पौडेल, र सहायक क्याम्पस प्रमुख डा. बसन्त कुमार सुवेदी लगायत विभिन्न विषयका प्राध्यापकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख डा. दुर्गा भुसालले गर्नुभएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.